काठमाडौं, ३१ वैशाख । आज जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी अध्यक्ष यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाक्नुभएको छ ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि अध्यक्ष यादव सरकार छाड्ने मनस्थितिमा पुग्नुभएको बताइन्छ । उहाँ सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारीमा रहनुभएको उहाँ निकट नेताहरुले बताउनुभएको छ।
यादवले सरकार छोड्नुभयो भने वर्तमान सत्तागठबन्धनलाई पहिलो धक्का लाग्ने छ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछाने जेलिदै जानुभएकोले सो पार्टीले कुनै पनि दिन सरकार छोड्ने निर्णय गर्न सक्ने संभावना छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि कुनैपनि दिन सरकारबाट बाहिरिन सक्छ । यसैले कुनै पनि दिन प्रचण्ड नेतृत्वको बामबहुल सरकार ढल्न सक्ने अनुमानले राजनीतिक बजार गर्माएको छ ।
उपेन्द्रको पार्टीलाई मधेश सत्ताबाट विस्थापन गरिदै
केन्द्रीय कार्यसमिति र संघीय संसदको संसदीय दल बिभाजनको चोटले रन्थनिनुभएका जसपा नेपालका अध्यक्षमाथि सत्ता गठबन्ध्नेको निर्णायक शक्ति मानिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अर्को प्रहार गरेका छन् ।
उनीहरुले जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारलाई हटाएर आफू अनुकूल सरकार निर्माण गर्न जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसंग नयाँ सहमति गरेका छन् ।
चार दलबीच प्रदेश स्तरमा नयाँ समीकरणको सरकार बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् । मधेश सरकारमा एमालेबाट मन्त्री रहेका नेताहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउनुभएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट सरकारमा रहनुभएका भरतकुमार साह र युवराज भट्टराईले पनि मुख्यमन्त्रीलाई राजीनामा बुझाउनुभएको छ ।
१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।
भारतको निर्वाचन सकिनु अगावै नेपालमा माओवादी नेतृत्वको बामबहुल सरकारमा पहिरो जान थालेकोले भारतको निर्वाचन पछि प्रचण्ड नेतृत्वको सरकारबाट नेपालीले मुक्ति पाउने आकलन पनि गरिंदै छ ।