Prakash Adhikari June 5, 2024

काठमाडौँ, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्य हासिल गर्न प्रेरणा मिलोस् भन्नुभएको छ ।

“मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिभएको छ, “नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ ।”

साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।

“विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ”, शुभकामना सन्देशमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ ।”

प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ । यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा ‘हाम्रो भूमि ः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गर्नुभएको छ ।

साथै, सन्देशमा वातावरण संरक्षण तथा व्यवस्थापनमा योगदान पु¥याउने सबै निकाय र सरोकारवालाप्रति उहाँले धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ ।

वातावरणको संरक्षणमा लागौँ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले वातावरण संरक्षण र प्रवर्द्धनका लागि सबै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, सङ्घ संस्था र व्यक्तिले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाउन गइरहेको विश्व वातावरण दिवस, २०२४ का अवसरमा सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले कालान्तरमा पृथ्वीको सबै भूभागमा असर पार्ने बताउनुभएको छ । त्यसैले वातावरण संरक्षणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको छ ।

“हाम्रो देशको सन्दर्भलाई हेर्दा सहरी क्षेत्रमा फोहरमैलाको उचित व्यवस्थापन र ग्रामीण क्षेत्रमा वृक्षरोपणको माध्यमबाट वातावरण संरक्षणका पहल भइरहेको अवस्था छ”, शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी न्यून कार्बन उत्सर्जनका लागि विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आजको आवश्यकता देखिन्छ ।”

विकसित मुलुकको तुलनामा वातावरणीय प्रदूषणमा कम सहभागी भए पनि जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिको सङ्कट सामना गर्नेमध्येको मुलुकमा नेपाल पर्नु आफैँमा दुःखद् विषय भएको र यस्ता दिवसले थप ध्यानाकर्षण गराउने हुँदा यो दिवसको विशेष महत्व रहेको सन्देशमा उल्लेख गरिएको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइँदै आएको छ । नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

Share Now