
काठमाडौं, १२ जेठ । दुईवटा भिन्न निकायले मूलत: काठमाण्डू उपत्यकाकेन्द्रित मेट्रो र मोनोरेल सञ्चालनका निम्ति थप अग्रसरता लिएका छन्।
लगानी बोर्ड नेपालले काठमाण्डूको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म मेट्रो रेल सञ्चालनका निम्ति आफूले चालेको कदमबारे सरोकारवाला स्थानीय तहसँग छलफल गरेको छ।
त्यस्तै काठमाण्डू महानगरपालिकाले चक्रपथमा मोनोरेल चलाउने सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।
काठमाण्डू उपत्यकाको सार्वजनिक यातायात दिन प्रतिदिन सकसपूर्ण बन्दै गएपछि लगानी बोर्डले मेट्रो रेल सञ्चालनको सम्भावनालाई प्राथमिकता दिँदै आएको थियो।
सहयोगको वचन
त्यसै क्रममा उसले नागढुङ्गादेखि धुलिखेलसम्मको ३७ किलोमिटर दूरीमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनी छनोटको निम्ति गत साता विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ।
आफूले लिएको अग्रसरता र स्थानीय तहको सहयोग लगायतका विषयमा लगानी बोर्डले बिहीवार सरोकारवाला स्थानीय तहसँग छलफल गर्यो।
आफ्नो पक्षबाट पूर्ण सहयोग दिने प्रतिबद्धता जनाएको बताउँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, “लामो समयदेखि चर्चामै सीमित मेट्रो रेल अहिलेको महत्त्वपूर्ण योजना भएकाले अब यो काम छिट्टै हुनु पर्यो भन्यौँ।”
लगानी बोर्डले जनप्रनिधिनिलाई मेट्रो सञ्चालनको सम्भावना खोज्न आफूले लिएको अग्रसरताको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो
निजी-सार्वजनिक साझेदारी लगानीमा मेट्रो रेल बनाउने सरकारको लक्ष्य छ।
सम्भाव्यता अध्ययनको निम्ति प्रतिस्पर्धाबाट छनोट हुने कम्पनीले १५ महिनाभित्र प्रतिवेदन बुझाउनु पर्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, “बोलपत्रको म्याद २१ दिन हो। त्यसपछि कम्पनी छनौट गर्छौँ र अध्ययनको काम हुन्छ।”
टुङ्गो
उक्त अध्ययनपछि मेट्रो रेल सञ्चालनको सम्भावना र लागतको टुङ्गो लाग्ने उनको भनाइ छ।
लगानी बोर्डले जनप्रतिनिधिसँग परामर्श गरेकै दिन काठमाण्डू महानगरपालिकाले चक्रपथमा मोनोरेल सञ्चालनको अध्ययन गर्न छनोट गरेको चिनियाँ कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ।
चिनियाँ कम्पनीले सात महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्ने बताइएको छ।
यस्ता अध्ययन विगतमा पनि पटकपटक भएको देखेका कतिपय जानकार पछिल्ला अग्रसरताबाट हौसिने अवस्था नरहेको बताउँछन्। आवश्यकता र महत्त्वभन्दा लहडमा काम भइरहेको उनीहरू टिप्पणी गर्छन्।
तर विकासका सम्भावना खुट्ट्याउने प्रयास गर्दा केहीमा सफलता हात लाग्न सक्ने भन्दै पछिल्ला प्रयासलाई नकारात्मक रुपमा लिन नहुने अर्का थरीको मत पाइन्छ।
बीबीसीबाट