
कठमाडौं, १३ जेठ । नेपालको शैक्षिक र सामाजिक विकास सहित राजनीतिक परिवर्तनमा पूर्व सांसद तथा हलो क्रान्तिका अभियान्ता श्रीकान्त अधिकारीको योगदान अतुलनीय रहेको बताइएको छ ।
दूरद्रष्ट्रा श्रीकान्त अधिकारी स्मृति प्रतिष्ठानले उहाँको ९१ औं जन्म जयन्तिका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले उहाँको अगुवाईमा लमजुड.को दूराडाँडाबाट आरम्भ भएको शैक्षिक,सामाजिक र राजनीतिक अभियानको पश्चिम नेपालको सामाजिक र राजनीतिक विकासमा क्रान्ति ल्याएको बताएका हुन् ।
कार्यक्रममा नेपाल पज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले नेपालको राजनीतिक,शैक्षिक र सामाजिक आन्दोलनमा श्रीकान्त अधिकारीको योगदान अविश्मरणीय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका पूर्वसभामुख तारानाथ रानाभाटले उहाँको राजनीतिक चिन्तन दूरगामी महत्वको भएको उल्लेख गर्दै सशस्त्र आन्दोलनबाट लोकतान्त्रिक व्यवस्थाको पुनबहाली कठिन हुन्छ भन्ने उहाँको सोंच वीपीले २०३३ सालमा मेलमिलापको नीति लिएर स्वेदेश फर्कने कदमबाट पुष्टि भएको बताउनुभयो । उहाँले श्रीकान्त अधिकारीका सोंच,विचार, कर्म निकै क्रान्तिकारी र परिवर्तनकारी भएकोले उहाँ राष्ट्रिय व्यक्तित्व भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री दिनबन्धु अर्यालले श्रीकान्त अधिकारीको पालामा भएको २१ मौजाको शिक्षा सम्मेलनले पारित गरेका प्रस्तावहरु आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । उहाँले श्रीकान्त अधिकारी राजनीतिक र सामाजिक चेतनाले परिपूर्ण व्यक्तित्व भएको बताउनुभयो ।
कार्यक्रममा संविधान सभाका सदस्य डा. भिष्मनाथ अधिकारीले हलो क्रान्ति राजनीतिक अभियान र जागरणमात्र नभएर कृषि क्रान्ति र आत्मनिर्भर अर्थतन्त्रको लागि चालिएको अर्को महत्वपूर्ण क्रान्तिकारी कदम पनि भएको उल्लेख गर्नुभयो ।
उहाँले श्रीकान्त अधिकारीको नेतृत्वमा दूराडाँडाले प्राप्त गरेको शैक्षिक र सामाजिक विकासका उपलब्धिहरुलाई जगेर्ना गर्दै अगाडि बढाउन नयाँ पुस्ता अग्रसर हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक डा. गोविन्द नेपालले दूराडाँडामा भएको हलो क्रान्तिको असर अर्घाखाँचीसम्म पुगेको बताउदै प्राथमिक शिक्षा मातृभाषामा दिने र माध्यमिक शिक्षालाई व्यवसायिक गराउने उहाँको सोंच दूरगामी महत्वको भएको बताउनुभयो । उहाँले श्रीकान्त अधिकारीमा दार्शनिक व्यक्तित्व रहेको उल्लेख गर्दै शिक्षामा वैज्ञानिक, आध्यात्मिक र नैतिक तीनै पक्ष समेटनु पर्ने उहाँको विचार असल समाजको निर्माणको लागि निकै महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रममा कवि डा.मुकुन्द पथिकले उहाँमा रहेको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा यस बर्षको एसईई परीक्षामा लमजुङ्गबाट सर्वोत्कृष्ट स्थान हासिल गर्ने शैलपुत्री माध्यमिक विद्यालय धमिलिकुवाका छात्र समीर सेढाई र बुद्ध मेमोरियल आवासीय माध्यमिक विद्यालयकी छात्रा ऋतु श्रेष्ठलाई पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा समाजसेवी पूर्णभद्र न्यौपानेलाई पनि सम्मानित गरिएको थियो ।
श्रीकान्त अधिकारीकी धर्मपत्नि गायत्री अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोकुलप्रसाद दूराले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बीमाकुमारी दूरा र कृष्णसुधा ढुंगानाले गीत गाउनुभएको थियो भने हृदयपाणी अधिकारीले कवितावाचन गर्नुभएको थियो ।