
काठमाडौं,१४ जेठ । उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम सरकारमा जान तयार भएको छ । नेकपाका अध्यक्ष रहेका केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारमा सम्मिलित हुने अभिप्रायले फोरमले नेपाल कम्युनिष्ट पार्टीसंग मंगलबार बालुवाटारमा दुई बूँदे सहमति गरेको छ ।
सहमतिको दोस्रो बूँदामा संघीय समाजवादी फोरम सरकारमा सामेल हुने स्पष्ट उल्लेख भएको छ ।
दुई दलका बीचमा ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने कुरा उल्लेख छ ।
सहमतिमा नेकपाका तर्फबाट प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
नेकपाका नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । यसबारे छलफल हुन बाँकी नै रहेको छ ।
सरकार गठनको प्रारम्भदेखि नै मधेशवादी दललाई पनि समेट्ने मानसिकतामा रहेका प्रधानमन्त्री ओलीले उनीहरुका लागि दुई मन्त्रालय सुरक्षित राखेका छन् । अहिले सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यो दुबै मन्त्रालय फोरमले लिने सहमति भएको थियो ।