
काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी ले बजेट असाधारण प्रतिबद्धताका साथ आएको भन्दै यसलाई लागू गरिने बताएका छन् ।
नयाँ बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बजेट लागू हुँदैन भन्ने विपक्षीहरुप्रति कटाक्ष गर्दै उनले भने, ‘बजेटलाई हावादारी भन्नेहरु सबैभन्दा हावादारी हुन्, यो बजेट कार्यान्वयन हुन्छ, गर्छौं ।’
उनले रेल र पानी जहाज सञ्चालनका लागि सरकार गम्भीरताका साथ लागीपरेको समेत बताए । ‘यो एउटा मान्छे ट्रेकिङमा हिँडेको होइन, युगान्तकारी काम हो । कोलकाता, बे अफ बंगालबाट केही महिनाभित्रै जलमार्ग जोडिँदैछ’ उनले भने, ‘यसैवर्षभित्र पानी जहाज चल्न सुरु भयो भने अनौठो नमान्दा हुन्छ ।’ उनले आफूहरु मुलुकको कायापलट गर्न लागेको पनि दाबी गरे । ‘हामी यो मुलुकको कायापलट गर्छौं ’ प्रधानमन्त्री ओलीले भने, ‘यो जनताले जिताएर पठाएका ‘पल्टन’ समय गुजार्न होइन ।’