काठमाडौं, २२ आषाढ । नेपाली कांग्रेसले आगामी सरकार राष्ट्रिय सहमतिको बनाउने प्रयास जारी रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्ट अल्पमतमा परेको सरकारलाई विश्वासको मतको परीक्षणमा लगेर संवैधानिक जटिलता उत्पन्न गराउने दुस्साहस गरेको भन्दै भावि सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने सम्भावना कमजोर बन्दै गएको जनाएको छ।
उसले राष्ट्रिय सहमतिको निम्ति विश्वासको वातावरण बनाउन नेकपा एमालेसँगको सहमतिमा पुनर्विचार गर्ने सम्भावना पनि अस्वीकार गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले दुई दलबीच भएको आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका विषयमा भएको सहमति त्याग्न तयार भएमा राष्ट्रिय सहमतिको निम्ति आफ्नो पार्टी तयार रहेको जानकारी दिनुभएको छ।
बीबीसीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति हुनुपर्छ भनेर हामीले त पहिलेदेखि नै कुरा गरिरहेका छौँ, तर त्यसका निम्ति उहाँहरू मध्यरातमा गरेको सहमतिबाट पछि हट्न तयार हुनुपर्छ।”
तर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अब त्यो सम्भावना नरहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी एमालेसँगको सहमतिबाट कुनै हालतमा पछि नहट्ने अडान व्यक्त गर्नुभयो।
“कांग्रेस अरू पार्टीजस्तो होइन, निर्णयबाट पछि हट्ने कुरै हुन्न”, महतले भन्नुभयो, “संसद्को बाँकी कार्यकालमा पहिले (केपी शर्मा) ओलीजी र त्यसपछि (शेरबहादुर) देउवाजी प्रधानमन्त्री बन्ने हो।”
माओवादीको ‘वैकल्पिक प्रस्ताव’ तर ढोका बन्द
माओवादी केन्द्रका महासचिव गुरुङले राष्ट्रिय सहमति भने पनि एमाले र कांग्रेस त्यसको पक्षमा नरहेको बताउनुभयो।
बरु उनीहरू देशको राजनीतिलाई दुईदलीय अभ्यासमा लग्ने प्रयासमा रहेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “ओलीजीले राष्ट्रिय सहमति भन्नुहुन्छ तर देउवाजीले ‘होइन, राष्ट्रिय सहमति भनेको होइन, त्यो सम्भव छैन, कांग्रेस र एमाले मात्रै मिलेर अघि बढ्ने सहमति गरेका हौँ’ भन्नुभएको छ।”
कांग्रेसले पार्टी निर्णय सार्वजनिक गर्दा राष्ट्रिय सहमतिकै सरकार बनाउने उल्लेख गरेको छ।
तर कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेकाले उनको दल प्रतिपक्षमा बस्ने निचोडमा पुगेको भनी बुझ्नुपर्ने बताउनुभयो।
“संविधान संशोधन गर्न सकेसम्म धेरै दल मिल्ने भन्ने हो तर सबै आउँछन् भन्ने होइन”, माओवादीलाई सरकारमा सहभागी गराउने प्रयास समेत नगर्ने सङ्केत दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले विश्वासको मत लिने भनेकाले माओवादी त सहभागी हुँदैन होला।”
कांग्रेसले एमालेसँगको सहमतिबाट पछि नहट्ने र अन्य विकल्पमा छलफल नगर्ने बताएर माओवादीको निम्ति ढोका बन्द गरेको सन्देश दिएको ठानिएको छ।
राष्ट्रिय सहमतिको निम्ति कांग्रेस ?
माओवादीका एक जना नेताले सङ्क्रमणकालीन न्यायलगायतका विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने लगायतका काम बाँकी रहेकाले दलहरूबीच संवाद भइरहेको बताउनुभएको छ। उहाँले तत्काल नभए पनि भविष्यमा राष्ट्रिय सहमतिको वातावरण बन्न सक्ने कुरा अस्वीकार गरेनन्।
कतिपयले विश्वासको मत लिने र त्यो विफल भएपछि सबैभन्दा ठूलो दलको हैसियतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावनातर्फ धकेल्न प्रधानमन्त्रीले प्रयास गरिरहेको विश्लेषण गरेको पाइन्छ।
ओलीभन्दा पहिल्यै देउवा प्रधानमन्त्री बनेमा राष्ट्रिय सहमतिको पक्षमा कुरा अघि बढाउन बाटो खुल्ने माओवादी नेताहरूले ठानेको हुन सक्ने उनीहरूको बुझाइ छ।
कांग्रेस प्रवक्ता महतले त्यो सम्भावना अस्वीकार गर्नुभएको छ। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कस्तो सरकार बन्छ भन्ने कुरा हामीलाई पनि थाहा छ, हामीले बहुमत सिद्ध गरेमा एमाले र कांग्रेसकै बहुमतकै सरकार बन्छ।”
उहाँले राष्ट्रपतिले सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने बाटोमा नलाग्ने विश्वास व्यक्त गर्दै आफ्नो दल अन्य विकल्पतर्फ लागेर एमालेसँगको सहमतिबाट पछि नहट्ने बताउनुभयो।
माओवादी महासचिव गुरुङले पनि राष्ट्रिय सहमतिको कुरा गरे पनि कांग्रेस र एमाले त्यसको पक्षमा नरहेको आरोप लगाउनुभएको छ।
उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिको त कुरै छाड्नुस्, संविधानमा लेखेको बहुदलीय प्रणालीमाथि नै प्रहार गर्ने गरी उहाँहरू दुई दलीय व्यवस्थातर्फ लाग्नु भएको छ।”


















