Prakash Adhikari July 7, 2024

 

काठमाडौं, २३ आषाढ । देशका अधिकांश ठाउँमा शुक्रवार रातीबाट जारी अविरल वर्षका कारण शनिवार साँझसम्म नौ जनाको मृत्यु, आठ जना बेपत्ता र १४ जना घाइते हुनुका साथै कैयौँ ठाउँमा घर, पूर्वाधार तथा राजमार्गहरूमा क्षति भएको अधिकारीहरूले बताएका छन्।

 

शनिवार साँझसम्म देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक, दाड.मा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङ र तनहुँमा तीन तीन , दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिनुभयो । विभिन्न जिल्लामा १४ जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।

यससँगै जारी मनसुनमा हासम्म ३४ जनाको मृत्यु भएको सरकारी विवरण छ।

शनिवार दाङको लमहीस्थित राप्ती नदीमा बगेर एकजना बेपत्ता भएको र दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

लमही बजारमा बिहान दूध बेचेर फर्किएका राजपुरका तीनजना कृषक राप्ती नदी तर्ने क्रममा बाढीमा फसेका थिए।

नदीको बीचमा फसेका दुईजनालाई प्रहरीले उद्धार गरे तापनि एक जनालाई बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बाँकेमा राप्ती नदीमा पानीको सतह उच्च तहमा पुगेको भन्दै चेतावनी जारी गरिएको छ।

शुक्रवार राति दाङ र प्युठान जिल्लामा परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढिरहेकोले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगञ्जस्थित बीबीसी संवाददाता विमला चौधरीले जनाएकी छन्।

प्रहरीका अनुसार दोलखाको गौरिशङ्खर हिमालको फेदबाट गएको पहिरोले स्थानीय खोला थुनेपछि आएको बाढीमा एकजना स्थानीय बेपत्ता भएका छन्।

तटीय क्षेत्रमा पानीको वहाव बढेपछि होटेलको सामान सार्ने क्रममा स्थानीय ६४ वर्षीय महिलालाई खोलाले बगाएको थियो।

बाढीले गौरीशङ्कर गाउँपालिकामा तीनवटा घर बगाएको र खोला छेउका मानिसहरू घर छोडेर सुरक्षित ठाउँमा बसिरहेको प्रहरीले जनाएको छ।

राजधानीमै बाढी

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार राजधानी काठमाडौमा पनि बाढीका कारण नदीका तटीय क्षेत्रमा जोखिम देखिएको छ।

“नदी किनारमा पर्खाल नलगाइएका ठाउँहरूमा राजधानीमा पनि कटान र डुबानको समस्या देखिएको छ,” उहाँले भन्नुभयो।

भक्तपुरमा हनुमन्ते खोला र काठमाडौंको दक्षिणी क्षेत्रमा बागमती खोला आसपासका बस्तीसम्म पुगेको विवरण आएका छन्।

जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको, बढ्दो क्रममा रहेको र सो जलाधारमा थप वर्षा हुने सम्भावना रहेको भन्दै हनुमन्ते खोला र यसका सहायक नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ।

कैयौँ राजमार्ग अवरुद्ध

गृह मन्त्रालयका भुसालले देशभरका कैयौँ राजमार्ग र स्थानीय सडकहरूमा अवरोध हुने र खुल्ने क्रम चलिरहेको बताउनुभयो।

राष्ट्रिय समाचार समितिका अनुसार पहिरोका कारण सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छ।

त्यस्तै सिन्धुलीमा गएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ भने मध्यपहाडी राजमार्गमा पनि विभिन्न स्थानमा पहिरोले आवतजावत प्रभावित भएको छ।

“राष्ट्रिय र प्रदेश स्तरका राजमार्गहरूमा अवरोध खुलाउन उपकरण सहितको टोलीहरू ठाउँ ठाउँमा तयारी अवस्थामा राखिएका छन्,” गृह मन्त्रालयका सहसचिव भुसालले भन्नुभयो।

“निरन्तरको वर्षाका कारण कतिपय ठाउँमा सडक खुलाउने कामहरू पनि प्रभावित भएका छन्।”

राससका अनुसार हेटौँडाबाट काठमाडौं जोड्ने सडक मार्गहरू पनि अवरुद्ध बनेका छन्।

सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रशासनले जनाएको छ।

त्यस्तै महालक्ष्मी खोलामा पहिरो गएका कारण भीम फेदी–फाखेल–माता तीर्थ सडक खण्ड र ललितपुरको भट्टेडाँडा नजिक गएको पहिरो गएका कारण कान्ति राजपथ पनि शनिवार बिहानैदेखि अवरुद्ध रहेको राससले जनाएको छ।

त्यस्तै पहिरोका कारण बेँसी सहर–चामे सडक र बाढीका कारण घोराही–तुलसीपुर सडक सडक पनि अवरुद्ध भएको छ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भुसालले पछिल्लो सुख्खा याममा सडकहरू खोलिएका कैयौँ ठाउँमा पहिरो गएको विवरण आएको बताउनुभयो।

राससले कर्णाली राजमार्गको कालिकोट सडक खण्डमा पहिरो खस्दा सुर्खेतबाट जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएको जनाएको छ।

त्यस्तै बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो खसेका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको र गाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले संवेदनशीलताको मूल्याङ्कन गरेर सतर्क रहन देश भरीका प्रहरी एकाइहरूलाई निर्देशन दिइएको बताउनुभयो।

जोखिम रहेका ठाउँहरू

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम राप्ती कुसुम बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। यो क्षेत्रमा जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा शनिवार साँझसम्म उच्च सतर्कता अपनाउन विभागले भनेको छ।

त्यस्तै नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ।

यहाँ पनि बाढी बढ्दो क्रममा रहेको र थप बढ्ने देखिएको भन्दै नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम औँल्याइएको छ।

चितवनस्थित बीबीसी संवाददाता इश्वर जोशीले नारायणी नदीको जल सतह निरन्तर बढिरहेको बताउनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बहने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी जारी गरेको छ।

बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ ।

वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ वटा टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

यसैगरी हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ स्थित आश्विन आचार्यको जस्ताको टहराको गाईगोठमा पानी पसेपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले दुईवटा गाई उद्धार गरेको छ ।

चाँगुनरायण नगरपालिका–४ खनालचोकस्थित प्रगती टोलमा रिद्धिसिद्धि बसपार्क र खहरेबाट बगेको पानीले टोलमा डुबान भएकोमा प्रहरी प्रभाग चाँगुको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा पानी कटाई क्षति हुनबाट जोगाएको प्रनाउ कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी भक्तपुरको सिद्धि स्मृति अस्पतालभित्र पानी पसेर अस्पताल जलमग्न हुँदा क्षति पुर्याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ ।

त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि यहाँका करिब ५० घर डुबानमा परेको गैरसरकारी संस्था महासङ्घ भक्तपुरकी अध्यक्ष एवं स्थानीयवासी अनिता पाण्डेले जानकारी दिनुभयो । त्यस क्षेत्रका बासिन्दाका घरको भुइँतलामा रहेको सामानमा क्षति पुगेको र आवातजावतमा समेत दिनभर अवरोध रहेको बताउनुभयो ।

हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।

ट्याक्टर पल्टिदा एकको मृत्यु, एक बेपत्ता

दाङ । अविरल वर्षाका कारण गढवा गाउँपालिका–५ स्थित गङ्गदी खोलामा आएको बाढीले रा१त २१६६ नंको ट्र्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।

खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको आएको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार राजपुर गाउँपालिका–२ का तीनजना किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रूखमा चढेकालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।

राजपुर गाउँपालिका–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो । उनीहरूसँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाँउपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपालले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको बताइएको छ । वर्षाका कारण तुलसीपुर–घोराही सडक बन्द भएको छ । सो सडकखण्डमा पर्ने सेवार खोलामा पुल निर्माण भइरहेको र त्यहाँ निर्माण भएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।

वर्षाका कारण राप्ती लोकमार्गअन्तरर्गत तुलसीपुर सल्यान सडक पनि अवरुद्ध भएको छ । कपुरकोटदेखि तल पहिरोसहितको लेदो माटो खस्दा बाटो अवरुद्ध भएको हो । बबई नदीमा पनि बाढी आएको छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्यूठानको चकचकेमा पहिरो खस्दा दाङको भालुवाङ–प्यूठान सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, रोल्पाको सहिदमार्ग, पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यस्तै शनिवार र आइतवार बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अधिकारीहरूले सूचना जारी गरेका छन्।

 

Share Now