काठमाडौं, ६ साउन । यही साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिग भलिबल प्रतियोगिताको तयारी स्वरुप आज नेपाली महिला भलिबल टोली र रुसको टोलीसंग मैत्रीपूर्ण खेल खेल्दै छ ।
रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै सिक्ने मौका मिल्छ। काभा अघिको मैत्रीपूर्ण खेल हाम्रो लागि महत्वपूर्ण हुनेछ। ‘
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले महिला टोली दक्षिण एसियाको च्याम्पियन बन्न चाहिरहेको उल्लेख गर्दै भने, ‘भारतविरुद्ध १३ सागको फाइनलमा जितको नजिक पुगेर हारेका थियौं। पटक पटक हारेपनि हामी भारतमाथि जित निकाल्न सक्छौं । त्यसको लागि यो राम्रो तयारी हुनसक्छ।’
साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित ५ राष्ट्र सहभागी हुने भएका छन् । प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी हुने छन् ।
सोही प्रतियोगिताको तयारीका लागि हुन लागेको नेपाल र रुसको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज र भोलि हुनेछ। यो खेल नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा हुन लागेको हो ।
नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि दुई नयाँ खेलाडी समेट्दै १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
अरुणा शाहीको कप्तानी रहने नेपाली टिममा सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन् ।
रसियाको टोलीमा एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया रहेका छन् ।


















