Prakash Adhikari July 26, 2024

मन्थली (रामेछाप), ११ साउनः रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयोे ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताउनुभयो ।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए ।

 जाजरकोटमा घर भत्किँदा एकै घरका आठ घाइते
जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् ।

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।

आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छभने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
–––

–––

Share Now