Prakash Adhikari July 27, 2024

काठमाडौँ, १२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो मुलुक साहित्य साधनाको ऊर्बर भूमि र ज्ञानको उद्भव स्थल हो भन्नुभयो । “मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँशु कविता प्रकट हुने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्ने चाहन्छु ।’’

उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको छ भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गर्नुभएको थियो ।

लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्नु नपर्ने बताउनुभयो ।

आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

Share Now