काठमाडौं, १५ श्रावण । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली शेयरबजारमा तीव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको छ।
बजार खुलेपश्चात २६०९ विन्दुसम्म ओरालो लागेको नेप्से, कारोबारको अन्तिम समयतिर बढेर २७०९ विन्दुसम्म पुगेको थियो। तर अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा तल नै बन्द भएको छ।
मंगलबार धितोपत्र बजार परिस्ूचक ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको छ।
धितोपत्र बजार परिसूचक घटेपनि अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थिये । तर मंगलबार बजारमा ३ सय २९ स्टकको ४ करोड ३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्रीबाट १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिनको बजारमा होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०।७६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आव एशियन हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।