Prakash Adhikari August 4, 2024

ब्राम्प्टन(क्यानडा), १९ साउन । ग्लोबल टी २० क्यानडामा शनिवार भएको खेलमा नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भान्कुवर नाईट्स फेरी पराजित भएको छ ।

टिमको छैठौं खेलमा भान्कुवर नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो । हालसम्म खेलिएका ६ खेलमा भान्कुवरले एक खेल बर्षाले रद्द हुँदा बाँडिएको एक अंकमात्र हासिल गरेको छ । भान्कुवर लिगका ६ टोलीमध्य अंकतालिकाको पुछारमा छ ।

नेपाली समय अनुसार आइतबार बिहान (स्थानीय समय अनुसार शनिवार राति) भएको खेलमा टोरोन्टोले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको भान्कुवरले १८.५ ओभरमा अल आउट हुदै १ सय ८ रन मात्र जोड्न सक्यो ।

भान्कुवरका लागि रिचि बेरिङ्टनले ५२ रन बनाए । रिजा हेनरिक्सले १७, दीपेन्द्रले १३ र कप्तान उस्मान ख्वाजाले १० रन जोडे । द्धायन प्रिटोरियसले ४, हर्ष ठाकरले २ तथा मोहम्मद अमिर र ऋषभ जोशीले एकएक रन मात्र जोड्न सके । ओपनर मुनिर अहमद,आशिफ अली र सन्दीप लामिछाने खाता नखोली आउट भए ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ३, मोहम्मद नवाजले २ तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले समान १ विकेट लिए । आजको खेलमा नेपाली कप्तान रोहित पौडेल भने बेञ्चमा थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ तथा आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले समान १९ रन बनाए । मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोडे ।

भेनकुवरका लागि मोहम्मद आमिरले ३, रिशिभ जोशी र हर्ष ठाकरले समान २ ।२ तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले समान १ । १ विकेट लिए ।

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको अर्को खेल सोमबार रहेको छ । रोहित सम्मिलित टोरोन्टोको खेल भने मंगलबार रहेको छ ।

 

Share Now