Prakash Adhikari August 7, 2024

काठमाडौं, २३ साउन । नेपालमा भैरहेको काभा महिला भलिबल नेसन्स लिग २०२४ को उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन्।

नेपाल र भारतबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।

नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । यसैले नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ।

भारतविरुद्धको त्यो जित महिला भलिबल इतिहासको पहिलो जित हो। नेपाल आजको खेलमा सोही नतिजालाई दोहोराउने प्रयासमा हुनेछ।

नेपालले मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग सोझो सेटको जित निकाल्दै नेपालले भारतसँगको भेट पक्का गरेको हो।

भारतसँगको यो भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको पीडादायी पराजयलाई भुलाएर विजयोत्सव मनाउने सुखद् अवसर समेत हो।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। त्यो नतिजाले खेलाडीहरुमात्र हैन, भलिबलप्रेमी दर्शकहरु पनि रुन पुगेका थिए ।

त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो पराजयलाई बिर्साउने गरी विजयी नतिजा निकालेर विजयोत्सव मनाउने लक्ष्यमा केन्द्रित रहने छ ।

भारतले भने यसपटक श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

नेपालसँग लिग चरणमा हार भोगेको भारत फाइनललाई आफ्नो पक्षमा पार्न अग्रसर हुने देखिएको छ ।

आजै तेस्रो स्थानको खेलमा खेलमा इरान र श्रीलंका भिड्दैछन्। इरान नेपालसँग र श्रीलंका भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि खेल्न लागेका हुन्।

तेस्रो स्थानको खेल दिउँसो २ बजे सुरु हुनेछ।

Share Now