Prakash Adhikari August 8, 2024

 

नयाँदिल्ली(भारत), २४ साउन । बहुपक्षीय प्राविधिक र आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)ले यस क्षेत्रमा उद्योग र वाणिज्य क्षेत्रको विकासका लागि बिमस्टेक चेम्बर अफ कमर्स गठन गर्ने भएको छ।

अहिले भारतको राजधानी नयाँदिल्लीमा भैरहेको बिमस्टेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहनेछ।

आफूले गत वर्ष गरेको प्रस्तावअनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गर्नुभएको छ। उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ।

बिमस्टेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे। बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिम्स्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिम्स्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ। चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ ।

सो बैठकमा अध्यक्ष ढकालसहित महासंघका पूर्वअध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

Share Now