
रासस
वासिङ्टन, जेठ २७ (एएफपी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी ठूला औद्योगिक राष्ट्रहरूको समूह जि सेभेनको सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताएका छन्।
उनले भनेका छन्– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त प्रेस विज्ञप्तिलाई पनि हामीले अनुमोदन गर्ने छैनौं।
राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनका लागि क्यानाडामै रहेका अमेरिकी प्रतिनिधिलाई त्यस विज्ञप्तिलाई अनुमोदन नगर्नु भनी निर्देशन दिएको जानकारी ट्वीटरमार्फत दिएका छन्।
मंगलबार सिंगापुरमा हुने उत्तर कोरियाली नेतासँगको शिखर बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले जि सेभेन सम्मेलनमा रहेका अमेरिकी प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएका हुन्।
आइतबार बिहान ट्वीट गर्दै ट्रम्पले क्यानाडेली प्रधानमन्त्रीले झूठो वक्तव्य दिएको आरोप पनि लगाएका छन्। उनले अमेरिकका किसानका उत्पादनहरु, यहाँका मजदुर र अमेरिकी कम्पनीहरूमाथि क्यानाडाले व्यापक मात्रामा कर लगाएको बताएका छन्।
राष्ट्रपति ट्रम्प क्यानाडेली प्रधानमन्त्री ट्रयुडेउसँग निकै नै अनुदार देखिएका छन्। उनले जि सेभेनको बैठकमा क्यानाडेली प्रधानमन्त्री नरम र भद्र देखिएको भए पनि पछि भने अमेरिकी करहरूको व्यापक आलोचना गरेको र त्यसले अमेरिकी अर्थतन्त्रकै अपमान भएको बताए।
क्यानडाले यसअघि भनेको विषयमा अडान दोहोर्याएर अमेरिकालाई धोका दिएको आरोप लगाउँदै ट्रम्पले सो धारणा राखेका हुन्।
तर अरू सदस्यहरूले भने शिखर बैठकपछि जारी गर्ने भनिएको संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेको विषयबाट अमेरिका पछि हटेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले अमेरिकामाथि ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका देशहरूले ठूलो मात्रामा कर लगाइरहेको तर आफूले उनीहरुमाथि करको कुरा गर्दा यस्तो व्यवहार गरेको पनि बताएका छन्।
ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका सदस्य राष्ट्रहरुले अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करको विषयलाई लिएर नीतिमा आधारित व्यापार प्रणाली नामको संयुक्त वक्तव्यमा सहमति गर्ने सहमति भएको थियो।
त्यस सहमतिपछि भने दुबैतर्फको कर लगाइने भन्ने बारेमा केही समाधान निस्किएको बताइएको थियो।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले अमेरिकाले कर लगाएमा क्यानाडाले पनि जुलाइ १ देखि कर लगाउने बताएका थिए। त्यस भनाइप्रति अमेरिकाको कडा विरोध आएको हो।
ट्रयुडोले राष्ट्रिय सुरक्षामा चासो भनेर यस्तो सुरक्षाका नाममा अमेरिकाले स्टील र एलुमिनियममा कर लगाएको विषय कहिल्यै पनि न्यायसंगत हुन नसक्ने धारणा राखेका थिए।
राष्ट्रपति ट्रम्पको यो पछिल्लो निर्णयका बावजुद पनि युरोपेली संघ उक्त संयुक्त वक्तव्यप्रति कटिबद्ध भएर रहने पनि जि सेभेनमा उपस्थित नेताहरुको अडान छ।