आन्द्रे रोडन पोल र जेम्स ग्रेगोरी / बीबीसी न्यूज
किएभ(युक्रेन), ३ भाद्र । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्त्व भएको दोस्रो पुल पनि ध्वस्त पारिएको जनाएको छ। उक्त क्षेत्रमा आकस्मिक आक्रमण गरेपछि युक्रेनले त्यहाँ सैन्य कारबाहीलाई निरन्तरता दिएको छ।
युक्रेनी सेनाले आइतवार ज्भानेस्थित सेम नदीमा रहेको पुलमा गरिएको हमलाको हवाई भिडिओ सार्वजनिक गरेको थियो।
त्यसको केही घण्टापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलेले कुर्स्क क्षेत्रमाथिको सैन्य आक्रमणको उद्देश्य रुसी हमलालाई रोक्न एउटा ‘मध्यवर्ती क्षेत्र’ स्थापना गर्नु भएको बताउनुभएको छ।
सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले गरेको सर्वाधिक ठूलो आक्रमण अब दुई साता पुग्न लागेको छ।
“अर्को एउटा पुल घट्यो,” युक्रेनी वायुसेनाका कमान्डर लेफ्टिनन्ट जेनरल मिकोला ओलेश्चुकले सामाजिक सञ्जालमा हमलाको फुटेज पोस्ट गर्दै लेख्नुभएको छ।
उहाँले युक्रेनी वायुसेनाका विमानहरूले अचुक निसानासहित हवाई हमला गरेर शत्रुको बन्दोबस्ती क्षमता कमजोर पारिरहेको जनाउनुभएको छ।
उक्त भिडिओमा सो पुलमाथि धुवाँको ठूलो मुस्लो उठेको र पुलको एउटा भागमा क्षति पुगेको देखिन्छ। सो हमला कहिले भएको थियो त्यो स्पष्ट भइसकेको छैन।
रुसी भूभागको दोस्रो रणनीतिक पुल
गत साता युक्रेनले ग्लुस्कोभोनजिकै सेम नदीमा रहेको एउटा पुललाई नष्ट गरिदिएको थियो।
क्रेम्लिनले रुसी फौजका लागि सरसामान आपूर्ति गर्न उक्त पुलको प्रयोग गर्दै आएको थियो।
यसअघि सैन्य विश्लेषकहरूले आफ्ना फौजलाई सामान आपूर्ति गर्न रुसले प्रयोग गरेका तीनवटा पुल त्यस क्षेत्रमा भएको पहिचान गरेका थिए। तीमध्ये दुइटा ध्वस्त भएका छन् वा तिनमा गम्भीर क्षति पुगेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।
युक्रेनी सैनिकहरू सीमा नाघेर रुसी भूभागमा प्रवेश गरेको दुई साता पुग्दा उनीहरू त्यहाँ बस्ने योजनामा रहेको स्पष्ट भएको छ।
शनिवार राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूले कुर्स्कमा नियन्त्रण कायम गरेको र उनीहरू रुसी भूमिमा अझ फैलिरहेको बताउनुभयो।
आइतवारको रात्रिकालीन सम्बोधनमा उहाँले भन्नुभयो, “कुर्स्कमा हाम्रो कारबाहीबाट रुसी सेना र रुसी राज्य, उनीहरूको रक्षा उद्योग र अर्थतन्त्रमा अझै पनि क्षति पुगिरहेको छ।”
उहाँले यो युक्रेनका लागि प्रतिरक्षा मात्रै नभएको भन्दै आक्रमणको उद्देश्य यथासम्भव युद्ध गर्न सक्ने रुसको सामर्थ्यलाई नष्ट गर्ने र अधिकतम प्रत्याक्रमण गर्नु भएको बताउनुभयो।
युक्रेनमाथि थप रुसी हमलाहरू रोक्न आक्रमणकारीको भूभागमै मध्यवर्ती क्षेत्र बनाउने उद्देश्य पनि भएको उहाँले बताउनुभयो।
राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलियाकले रुसी भूमिमा कब्जा गर्ने इच्छा युक्रेनको नरहेको भन्दै वार्ताका लागि रुसलाई मनाउन आफूहरूले चाहेको बताउनुभएको छ।
मस्कोले उक्त आक्रमणलाई उत्तेजनात्मक कदम भन्दै त्यसको ूउपयुक्त जबाफू दिने बताएको छ।
पश्चिम रुसको भूभागतर्फ युक्रेन अझ अघि बढिरहँदा युक्रेनको पूर्वी भागमा रुसी सुरक्षाबलले नियन्त्रण कायम गरिरहेका छन् र हालैका साताहरूमा कैयौँ गाउँमाथि दाबी गरेका छन्।
परमाणु ऊर्जा केन्द्रका प्रमुखको चिन्ता
संयुक्त राष्ट्र सङ्घको परमाणुअस्त्र निगरानी निकायका प्रमुखले यसअघि रुसले कब्जा गरेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको अवस्था बिग्रिँदो अवस्थामा रहेको छ।
उक्त युक्रेनी केन्द्रको परिसरनजिकै भएको ड्रोन हमलापछि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा केन्द्रका प्रमुख राफेल ग्रोसीले आफू ज्यादै चिन्तित भएको भन्दै उक्त केन्द्रलाई जोगाउन अधिकतम संयम अपनाउन सबै पक्षलाई अनुरोध गर्नुभएको छ।
उक्त निकायले सो हमलाको प्रभाव उक्त केन्द्रबाहिरको सडकनजिकैको एउटा तलाउमा परेको र त्यो हाई भोल्टेज लाइनभन्दा १०० मिटर पर मात्रै रहेको जनाएको छ।
सो केन्द्रलाई युद्ध सुरु भएको केही समयमा नै रुसले कब्जा गरेको थियो र त्यहाँ बारम्बार भएका आक्रमणलाई लिएर दुवै पक्षले एक अर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्।
गत साता किएभ र मस्कोले सो केन्द्रमा चिस्यानका लागि प्रयोग हुने एउटा संरचनामा भएको आगजनीलाई लिएर एकअर्कामाथि आरोपप्रत्यारोप गरेका थिए।
आईएईएले शनिवारको आक्रमण कसले गरेको थियो भन्ने खुलाएको छैन। यद्यपि विस्फोटक पदार्थ बोकेको ड्रोनका कारण सो क्षति भएको त्यहाँ परिचालित उसको टोलीले जनाएको छ।
उक्त केन्द्रबाट दुई वर्षभन्दा बढी समयदेखि ऊर्जा उत्पादन भएको छैन र त्यहाँका सबै छवटा रियाक्टरहरू एप्रिलदेखि बन्द छन्।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण गरेको थियो। तर पूर्वी युक्रेनका थप भूभाग आफ्नो नियन्त्रणमा लिने रुसको प्रयास अहिले केही सुस्ताएको छ।
अहिले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेर त्यहाँ आफ्नो नियन्त्रण कायम गर्न थालेपछि रुस स्तब्ध भएको जस्तो देखिन्छ।
हजारौँ रुसीहरूलाई उक्त क्षेत्रबाट उद्धार गरिएको छ।
दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसी भूभागमा विदेशी सैनिक प्रवेश गरेको घटनाका रूपमा कुर्स्कमा भएको युक्रेनी आक्रमणलाई लिइएको छ।



















