Prakash Adhikari September 1, 2024

 

काठमाडौं, १६ भाद्र। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमा पनि अख्तियार र सतर्कता पसे भने त्यसले समस्या सिर्जना गर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)को वार्षिक साधारण सभालाई आइतबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधन विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउदै सो कुरा उल्लेख गर्नुभएको छ ।

“बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ”, उहाँले भन्नुभयो, “अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।”

उहाँले विधेयकका प्रस्ताविक प्रावधानहरुले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने र त्यसले अर्थतन्त्रको विस्तार हैन,संकुचन निम्त्याउने पनि बताउनुभयो ।

आफ्नो संबोधनको क्रममा उहाँले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने कुरा उठाउनुभएको थियो ।

उहाँले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको उल्लेख गर्नुभयो ।

 

Share Now