Prakash Adhikari October 7, 2024

जहरा फतिमा र केली एनजी / बीबीसी न्यूज

कराची(पाकिस्तान), २१ असोज । पाकिस्तानको कराचीमा अवस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटनमा दुई जना चिनियाँ नागरिकहरू मारिएका छन्।

पाकिस्तानस्थित चिनियाँ राजदूतावासले स्थानीय समयअनुसार रातको झन्डै ११ बजे भएको सो विस्फोटनमा ‘धेरै पाकिस्तानी नागरिकहरूले ज्यान गुमाएको र घाइते’ भएको जनाएको छ। मृतकको सङ्ख्या अझै पनि स्पष्ट छैन।

घटनास्थल पुगेका एक जना प्रहरी प्रवक्ता गुलाम अजफर महेशरले पत्रकारहरूसँग कुरा गर्दै एउटा इन्धन ट्याङ्करमा पनि आगो लागेको र त्यसले गर्दा नजिकै रहेका सवारी साधनहरू जल्न पुगेको बताउनुभयो।

एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले आफूले चिनियाँ इन्जिनियरहरू र लगानीकर्ताहरू सवार सवारीमाथि हमला गरेको भन्दै आक्रमणको जिम्मेवारी लिएको छ।

सोमवार सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त उग्रवादी समूहले कराची विमानस्थलबाट आइरहेको ‘चिनियाँ इन्जिनयरहरू र लगानीकर्ताहरूको उच्च तहको सवारी’ लाई आफूले निशाना बनाएको उल्लेख गरेको छ।

चीनले के भन्यो ?

चिनियाँ राजदूतावासले सिन्ध प्रान्तमा रहेको एउटा ऊर्जा परियोजनाका इन्जिनियरहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।

उनीहरू चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनेरेशन कम्पनी लिमिटेडका इन्जिनियरहरू रहेको बताइएको छ। उक्त कम्पनीले कराचीको पोर्ट कासिम नजिकै दुईवटा कोइलाबाट चल्ने ऊर्जा केन्द्रहरू बनाइरहेको छ।

उक्त ऊर्जा उत्पादन केन्द्र चीन पाकिस्तान आर्थिक करिडरको हिस्सा हो। त्यसले पाकिस्तानको बलोचिस्तान प्रान्तमा कैयौँ ऊर्जा र पूर्वाधार परियोजनामा लगानी गरिरहेको छ।

ग्यास र खनिजजस्ता प्राकृतिक स्रोतहरूमा उक्त प्रान्त धनी रहेको छ।

बीएलएसहित कैयौँ जातीय बलोच समूहहरूले लामो समयदेखि सशस्त्र विद्रोह गर्दै आफ्ना लागि अलग्गै स्वायत्त भूमिको माग गरिरहेका छन्।

उनीहरूले उक्त क्षेत्रमा रहेका चिनियाँहरूमाथि निरन्तर निशाना साँधेका छन्। बलोच जातीय समुदायले वैदेशिक लगानीबाट प्राप्त सम्पत्तिमा आफ्नो हिस्सा नपाएको उनीहरूको दाबी छ।

चिनियाँ राजदूतावासले सोमवार पाकिस्तानमा रहेका आफ्ना नागरिक र चिनियाँ उद्यमीहरूलाई चनाखो रहन र ‘आफ्नोतर्फबाट सुरक्षा सावधानीका हरेक उपाय अवलम्बन गर्न’ सम्झाएको छ। चिनियाँ दूतावासले आफूले सो हमलाको गहिरो अनुसन्धान गर्ने र ‘हत्यारालाई कठोर सजाय दिइने’ जनाएको छ।

पाकिस्तानले साङ्घाइ कोअपरेशन अर्गनाइजेशनको शिखर बैठकको आयोजना गर्ने तयारी गरिरहँदा त्यहाँ सुरक्षा व्यवस्था कडा गरिएको छ।

उक्त विस्फोटनको आवाज शहरका विभिन्न ठाउँमा सुनिएको थियो। स्थानीय सञ्चारमाध्यमहरूले धुवाँको बाक्लो मुस्लो र कारमा आगो लागिरहेका दृश्य प्रसारण गरेका थिए।

पाकिस्तानका अधिकारीहरू के भन्छन्?

सिन्धका गृहमन्त्री जीयाउल हसन लान्जरले घरमै तयार पारिएको बमलाई प्रयोग गरेर उक्त विस्फोटन गराइएको हुनसक्ने बताउनुभयो।

अनलाइनमा राखिएका तस्बिरहरूले सुरक्षा अधिकारी र अग्नि नियन्त्रकहरूले विस्फोटन भएको क्षेत्रमा अनुसन्धान गरिरहेको देख्न सकिन्छ। त्यसमा कैयौँ सवारी साधनहरू भग्नावशेषमा परिणत भएका छन्।

एकजना प्रहरी सर्जन डाक्टर सुमैयाले डन समाचारसँग भन्नुभएको छ, “दशजना घाइते व्यक्ति जसमध्ये एक जनाको अवस्था अति गम्भिर छ उनलाई जिन्नाह पोस्टग्र्याजुएट मेडिकल कलेजमा ल्याइएको छ।”

उहाँका अनुसार घाइतेमा एक जना प्रहरी हवलदार र एक महिला पनि छन्।

सिन्धका आन्तरिक मामिला मन्त्रीको कार्यालयले एक्समा राखेको पोस्टमा एउटा ‘ट्याङ्कर ट्रक’ विमानस्थल जाने रोडमा विस्फोटन भएको र आन्तरिक मामिलामन्त्री यो घटनाबारे उच्चप्रहरी अधिकारीसँग सम्पर्कमा रहेको जनाइएको छ।

“हामीले तथ्यहरू निर्क्योल गर्नुपर्ने आवश्यकता छ,” त्यसमा लेखिएको छ।

यसअघि बीएलएले ग्वादर बन्दरगाह नजिकै पाकिस्तानी वायु सेवाको अखडामा गरिएको आक्रमणको जिम्मा लियो। सो परियोजना पनि चीन पाकिस्तान आर्थिक करिडरमा पर्छ।

सन् २०२२ को एप्रिलमा उसले तीन जना चिनियाँ शिक्षक र एक जना पाकिस्तानी चालकलाई कराची विश्वविद्यालयको कन्फुसिअस इन्स्टिट्यूट नजिकै गरिएको आत्मघाती हमलामा मारिदिएको थियो।

Share Now