जेरुसेलम(इजरायल), २७ असोज । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबनानमा रहेको शान्ति सेना तत्काल त्यहाँबाट फिर्ता गर्न आग्रह गर्नुभएको छ।
शनिवार लेबनानमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले यो साता दक्षिणी लेबननमा आफ्नो पाँचौं शान्ति सैनिक घाइते भएको जनाएको थियो।
नेतन्याहूले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसलाई सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो।
नेतन्याहूले उहाँको कार्यालयद्वारा जारी भिडिओमा भन्नुभएको छ ।
यस महिनाको सुरुमा इजरायली विदेशमन्त्री इसरेल काट्जले इजरायलमा इरानले आक्रमण गरेलगत्तै गुटेरसलाई पर्सोना नन ग्राटा घोषणा गर्नुभएको थियो।
दक्षिणी लेबनानमा लडाइँ चर्कियो
हिजबुल्लाहले सीमानजिकैको एउटा गाउँमा आफ्ना लडाकुहरू अत्यन्तै निकटको दूरीबाट इजरायली सेनासँग लडिरहेको जनाएको छ।
इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि लडाइँमा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ।
दक्षिण लेबननमा लडाइँ चर्किँदै गर्दा लेबनानी अधिकारीहरूले इजरायलले आफ्नो लक्षित क्षेत्रलाई फराकिलो बनाएको जनाएका छन्।
आईडीएफका अनुसार उसले विगत २४ घण्टामा मात्रै हिजबुल्लाहका झण्डै २०० ठेगानामा आक्रमण गरेको छ।
तीमध्येका एउटा घटनामा रेडक्रसका स्वयंसेवकहरू पनि घाइते भएका छन्। ती स्वयंसेवकहरू इजरायलले आक्रमण गरेको एउटा भवनमा घाइते र हताहत भएकाहरूको खोजी गरिरहेका थिए।
आईडीएफले हिज्बुल्लाहले हतियार र लडाकुहरू ओसारपसार गर्न एम्बुलेन्सको प्रयोग गरेको आरोप लगाएको छ। तर उसले कुनै प्रमाण दिएको छैन।
लेबनन र गाजामा पछिल्लो समयमा के भयो?
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार डेइर बेला, अल मायस्रा र बर्जामा भएको इजरेली आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।
हिजबुल्लाहले शनिवार लेबनानबाट इजरायलतर्फ करिब ३२० वटा क्षेप्यास्त्र प्रहार गरेको आइडीएफले जनाएको छ।
त्यस्तै मध्य र उत्तरी गाजामा शनिवार र गएराति भएका इजरायली हवाई हमलामा कम्तीमा २९ जनाको मृत्यु भएको चिकित्सकहरूलाई उधृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ।
एक साताअघि आईडीएफले उत्तरी गाजाको जबलियामा अर्को आक्रमण थालेको थियो। त्यहाँ हमासले पूर्वाधार पुनर्स्थापना गर्ने प्रयास गरेको इजरायलको भनाइ छ।
गत सातामात्रै त्यहाँ १ सय ५० जना मारिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको अनुमान छ। इजरायली सेनाले जबलियालाई घेरा हालेको र आफूहरूलाई एउटा तोकिएको बाटोको प्रयोग गरी बाहिर निस्किन भनिएको त्यहाँका स्थानीयवासीले बताएका छन्।
बेलायतसहितका ४० देशले लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्।
बिहीवार इजरायली ट्याङ्कबाट भएको गोली प्रहारको घटनामा दुई इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए। शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको आईडीएफले जिम्मेवारी लिँदै अनुसन्धान गर्ने प्रतिबद्धता जनायो।
शुक्रवारको अर्को घटनामा फेरि दक्षिण लेबनानमा गोली लागेर थप एक सैनिक घाइते भएको संयुक्त राष्ट्रसङ्घले शनिवार जनाएको छ। यद्यपि गोलीको स्रोतबारे केही बताइएको छैन।
राष्ट्रसङ्घको पोल्यान्ड मिशनको सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको संयुक्त वक्तव्यमा ती देशहरूले यूनिफिलका शान्ति सेनामाथिका आक्रमण तत्काल रोकिनुपर्ने र त्यसबारे पर्याप्त अनुसन्धान हुनुपर्ने उल्लेख गरेका छन्।
“उक्त क्षेत्रमा तनाव चर्किरहेको स्थितिमा हामी यूनिफिलको भूमिकालाई महत्त्वपूर्ण ठान्दछौँ ” , वक्तव्यमा भनिएको छ।