प्रदीप बस्याल / बीबीसी न्यूज नेपाली
काठमाडौंं, २८ असोज । पूर्वानुमान अनुसार नै सरदरभन्दा बढ्ता पानी परेको यस वर्षको वर्षा याममा भएका कतिपय घटनाले नेपालमा चरम मौसमी घटनाको झल्को दिएको जलवायु अधिकारी तथा विज्ञहरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेल जलवायु जोखिमयुक्त क्षेत्रमा पर्ने नेपालमा पछिल्लो समय ‘चरम मौसमी घटना’ सतहमा देखा पर्न थालेको बताउँनुभयो।
“कहिलेकाहीँ स्वाभाविक चक्रमै पनि देखा पर्ने चरम मौसमी घटनालाई जलवायु परिवर्तनले झन् ठूलो बनाउँछ। हामीकहाँ अहिले त्यस्तै अवस्था देखिन थालेको छ,” पोखरेल भन्नुहुन्छ।
“केही अवस्था घटना विशेषले ठूला देखिए पनि सामान्य दैनिकीमै पनि निरन्तर परिवर्तन महसुस भएको पाइन्छ। यस पटक हामीले निकै धेरै पटक तातो हावाको चेतावनी जारी गर्यौँ।”
विपद्सम्बन्धी एक विज्ञ त्यस्ता चरम मौसमी घटनाले पार्ने असरसँग जुझ्नका लागि राज्यसँग सूक्ष्म पूर्वानुमान विवरण हुनुपर्नेमा नेपालमा अझै त्यसको कमी देखिएको टिप्पणी गर्छन्।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा विपद् अध्ययन केन्द्रका निर्देशक रहेका वसन्तराज अधिकारी एउटा समग्र प्रदेशमा धेरै पानी पर्छ भन्ने जस्तो व्यापक पूर्वानुमानले त्यहाँ सबैतिरको अवस्था थाहा नहुन सक्ने बताउनुहुन्छ।
“त्यसैले सरकारले विपद् पूर्व कार्य योजना बनाउँदा समेत त्यो प्रभावकारी हुन सक्दैन।”
यसै वर्षा याममा नेपालमा भएका घटनामध्ये तीन वटा मुख्य चरम मौसमी घटनालाई विज्ञहरूले उल्लेख गरेका छन्।
१० असोज दोस्रो साताको विध्वंसकारी वर्षा
वर्षाअगावै सरकारले दुर्लभ रूपमा ५६ जिल्लालाई ‘रेड अलर्ट’ घोषणा गरेर विभिन्न सावधानी अपनाउन भन्दा भन्दै समेत ठूलो जनधनको क्षति हुनेगरी वर्षा भयो।
जसक्रममा २०० भन्दा धेरै मानिसहरूको मृत्यु हुनुका साथै हजारौँ विस्थापित हुन पुगे। आवास, सडक, जलविद्युत्, कृषि सहितका क्षेत्रमा गरेर क्षतिको आकलन अर्बौँ रूपमा हुने आकलन अधिकारीहरूले गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्यालले यस वर्षालाई वर्षौँमा हुने खालको ुनिकै ठूलो मौसमी प्रणालीु हुँदा हुँदै पनि पूर्वानुमानले पहिल्यै त्यसको सफल आकलन गर्न सकेको टिप्पणी गर्नुभयो।
राजधानी काठमाडौंमा अभिलेख राख्न सुरु भएयताकै साढे पाँच दलकको सबैभन्दा धेरै वर्षा मापन भएको मौसम अधिकारीहरूले जनाएका थिए।
काठमाडौंमा यसअघि २२ वर्षअघि सबैभन्दा उच्च वर्षा १७७ मिलिमिटर वर्षा भएकामा असोज दोस्रो साता २४० मिलिमिटर वर्षा भएको थियो। उक्त वर्षाका बेला नौ वटा मापन केन्द्रमा रेकर्ड तोडिएका थिए।
सरकारले उक्त वर्षाका बेला रात्रीबस नचलाउन भन्दै पूर्वसूचना जारी गरे तापनि त्यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा क्षतिहरू बढेको टिप्पणी भएका छन्।
जसक्रममा पृथ्वी राजमार्गको झ्याप्लेखोलाको पहिरोमा परेर मात्र ३५ जनाले ज्यान गुमाएका थिए।
उक्त वर्षाले नेपालको पूर्वाधार निर्माण क्रममा व्यापक लापरवाहीदेखि सरकारी तयारीको कमजोर पक्ष समेत उजागर गरिदिएको विपद् विज्ञहरू बताउँछन्।
२० कञ्चनपुरको भारी वर्षा
कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा २०८१ साल असार २३ गते राति भएको वर्षाले हालसम्मका सबै रेकर्ड तोडेको अधिकारीहरूले बताएका छन्।
उक्त जिल्लाको दोधारा, हनुमान नगर र सुन्दरपुर मापन केन्द्रमा गरिएको वर्षा नेपालको हालसम्मकै सर्वाधिक रहेको सरकारी रेकर्ड छ।
त्यहाँ चौबीस घण्टाको अन्तरालमा दोधारामा ६२४ मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा भएको थियो।
यसअघि २०७४ साल साउन २९ गते हेटौँडा मापन केन्द्रमा मापन गरिएको ५१६.२ मिलिमिटर वर्षा नेपालमा विवरण राख्न थालिए यताकै सर्वाधिक थियो।
विभागका मौसमविद् सरोज पुडासैनीले एक घण्टामै १०० मिलिमिटरभन्दा बढ्ता पानी पर्ने दुर्लभ अवस्था सुन्दरपुर मापन केन्द्रमा देखा परेको बताए।
“क्लाउडबर्स्ट भनिने आरीले घोप्टाएको जस्तो पानी पर्ने अवस्था त्यही नै हो जसलाई हामीले तराई क्लाउडबर्स्ट नाम दिएका छौँ,” पुडासैनी भन्नुहुन्छ, “बालीनालीमा त्यस्तो वर्षाको असर निकै नै ठूलो हुन्छ। अन्य जनधनको क्षति त छँदै छ।”
विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल कञ्चनपुरको वर्षाले विपद् तयारीलाई समेत थप सम्भावित जोखिमको तह हेरेर काम गर्नुपर्ने चेतावनी दिएको बताउनुहुन्छ।
“जलवायु परिवर्तनको असर अब चरम रूपमै देखिन थालिसकेको अवस्थामा अब त्यसबारे अझ अगाडि बढेर सोच्नुपर्ने अवस्था आएको छ।”
सिमलताल बस दुर्घटना
वर्षाजन्य प्रकोपका रूपमा एउटै घटनामा सर्वाधिक सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएको घटनाका रूपमा नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस खसेको घटनालाई हेरिएको छ।
ती बसमा ६२ जना चढेको बताइएकोमा तीन जना बच्न सफल भएका थिए भने कैयौँको अवस्था अझै अज्ञात छ र बस समेत फेला परेको छैन।
मौसमविद् सरोज पुडासैनी असार २८ गते सबेरै भएको उक्त घटनाको सम्बन्ध त्यसको झन्डै एक साताअघिबाट खोतल्नुपर्ने बताउनुहुन्छ।
“त्यसअघि असार २१ देखि २३ बीचमा त्यसभेगमा भारी र अति भारी वर्षा हुँदा त्यस ठाउँको माटो पर्याप्त रूपमा भिजेर पछि थोरै पानी पर्दा पनि चलायमान बनेको हुनसक्छ,” उहाँँ भन्नुहुन्छ।
उक्त घटनाको अध्ययन गरेको एक कार्यदलले राजमार्गमाथि ुवातावरणीय पक्षमा ध्यान नदिईु ग्रामीण सडक बनाइनु र सडकमा ‘एकीकृत सूचना प्रणाली प्रयोगमा नरहनु’ त्यसको मुख्य कारण भएको देखाएको छ।
एक जना भूगर्भविद् वसन्तराज अधिकारी उक्त घटनाले नेपालका ठूला पूर्वाधारमा प्रयोग हुने इन्जिनियरिङ शैली र अभ्यासमाथि प्रश्न उठाइदिएको बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “हामीले परम्परागत रूपबाट निर्माण गरिरहेका छौँ। तर अब नयाँ प्रविधि अनुकूल हुने गरी सोच्नुपरेको छ। इन्जिनियरिङका नयाँ प्रयोगदेखि बजेट र प्राथमिकतामा पारेर कार्यान्वयन गर्न दिने राजनीतिक नेतृत्वको खाँचो छ।”
पोखरेल सडकहरूमा सूचना प्रणाली तयार पारेर सम्भावित विपद्मा सतर्क हुनसक्ने अवस्था बनाउनुपर्ने बताउनुहुन्छ।
४० थामेमा हिमताल बिष्फोट र मानापाथी हिमपहिरो र बोक्सी खोला थुनिँदाको त्रास
सोलुखुम्बु जिल्लाको थामे गाउँमा साउन अन्तिममा गाउँभन्दा माथि रहेका दुई साना हिमताल फुटेर अकस्मात् बाढी आयो।
दिउँसोमा घटना भएकाले मानवीय क्षति नभए तापनि करोडौँ रुपैयाँ बराबरका पूर्वाधारमा क्षति पुग्यो।
त्यस लगत्तै धौलागिरि हिमालको आइसफलबाट आएको हिमपहिरोले बोक्सी खोला थुनिँदा तल्लो तटीय क्षेत्रमा त्रास सिर्जना भयो।
यद्यपि १३ घण्टापछि नदीले आफ्नो लय समातेपछि त्यसले उग्र रूप लिन पाएन।
मौसमविद् सरोज पुडासैनी मनसुन प्रणाली माथिल्लो भेगतर्फ सर्ने अवस्थामा त्यसको आकार सानो भए पनि असर ठूलो हुनसक्ने चिन्ता हुने बताउनुहुन्छ।
“तराईमा एक सय मिलिमिटर पानी पर्दा ठूलो बाढी पहिरो आइहाल्दैन, हिमालमा ५० मिलिमिटर नै वर्षा भए पनि त्यसले ठूलो असर निम्त्याउँछ, विगतमा मुस्ताङको बाढीमा हामीले त्यस्तो प्रभाव देखेका छौँ,” उहाँ भन्नुहुन्छ।
वसन्तराज अधिकारीजस्ता भूगर्भशास्त्रीहरू सानै हिमतालले समेत ठूलो जोखिम निम्त्याउने चेतावनी दिएको अवस्थामा अब ती क्षेत्रमा भूउपग्रहबाट प्राप्त हुने विवरणमा मात्र भर नपरेर थप ध्यान दिनुपर्ने देखिएको बताउनुहुन्छ।
जल तथा मौसम विज्ञान विभागले त्यस्ता मापन केन्द्रहरू अब बढाउनेदेखि अन्य तथ्याङ्क सङ्कलन गर्नका लागि लगानी बढाउनुपर्ने भएको विभागकी विभूति पोखरेल बताउनुहुन्छ।
“हिमतालहरू उचाइमा रहेका विकट ठाउँमै हुन्छन्, त्यहाँ अब कसरी पहुँच पुर्याउने र चासो दिने भन्ने कुरा महत्त्वपूर्ण बनेको छ। त्यो निरन्तर निगरानीमा हुनुपर्ने ठाउँ भएकाले सबै सरोकारवालाहरू अब लगानी बढाउने देखि उच्च भूभागमा नयाँ प्रविधिको पहुँच बढाउनुपर्ने भइसकेको छ,” पोखरेल भन्नुहुन्छ।