काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसबाट समानुपातिकमा राखिएका नेपालका एकमात्र घोषित अर्बपति उद्योगी विनोद चौधरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिसो एक पत्र पठाएर देशमा संविधानसभाबाट संविधान जारी भैसकेकोले नेपाली कांग्रेसले आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाली कांग्रेसले अंगीकार गरेको खुला,प्रतिस्पर्धी र उदार आथिक व्यवस्थामा नै उद्योग र व्यवसाय फस्टाउने र नेपाली कांग्रेस स्वदेशी, गैर आवासीय नेपाली तथा विदेशी लगानी भित्र्याएर देशमा तीव्र गतिमा औद्योगिक विकास, पूर्वाधारको विकास,रोजगारी अभिबृद्धि, गरिबी निवारण गरी जनताको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई जीवनस्तर अभिबृद्धि गर्ने मार्गमा लागेको स्मरण गराउनु भएको ।
प्रधानमन्त्री देउवाले चौधरीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श तथा यसमा आवद्ध सवै उद्योगी र व्यवसायीहरुको नेतृत्व गर्नमा देखाउनुभएको कौशलको पनि मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले थालनी गरेको आर्थिक समृद्धिको अभियानमा सरिक भएर प्रेरणादायी भूमिका निर्वाह गर्न पनि चौधरीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको लिखित पत्र पाए लगत्तै नेपालका सफल उद्योगी एवम् व्यवसायी र एकमात्रत्र घोषित अर्बपति विनोद चौधरीले आफू किन कांग्रेस प्रबेश गरेँ भनेर बक्तव्य नै निकाल्नुभएको छ ।
यसअघि एमालेबाट समानुपातिक तर्फबाट सांसद बन्नुभएका चौधरी यो पटक बामबन्धी छाडेर कांग्रेस प्रबेस गरे पछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भइरहेको अवस्थामा चौधरीले कांग्रेस प्रवेशका सन्दर्भमा स्पष्ट पनि पार्नुभएको छ ।
मंगलबार बिज्ञप्ती जारी गर्दै चौधरीले कांग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराउनुभएको छ ।
चौधरीले कांग्रेसले सार्वजनिक गरेको उक्त आव्हान तथा पहलबाट आफू झनै उत्साहित भएको पनि बताउनुभएको छ
उहाँले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालिन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा मैले नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष एवं अध्यक्षका हैसियतले तत्कालिन प्रधानमन्त्री द्वय स्व. कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासँग काम गर्ने शौभाग्य प्राप्त गरेको स्मरण गर्दै भन्नुभएको छ, ‘त्यतिबेला चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक बृद्धिदर, निर्यात ब्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धी हासिल भएको थियो।’
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत् राष्ट्रको प्रतिष्ठा अभिबृद्धि र लगानी प्रवर्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र वर्ल्ड इकोनोमिक फोरम देखि फोर्ब्स सम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराउदै आएको दावी पनि चौधरीले गर्नुभएको छ ।