काठमाडौ, १४ कार्तिक । विनाविभागीय राज्यमन्त्री रहेका माओवादी केन्द्रका शम्भुलाल श्रेष्ठ मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्।
आजै एमालेका दुई पूर्व सांसद पनि मंगलबार कांग्रेस प्रवेश गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार आयोजित एक कार्यक्रमबीच श्रेष्ठसहित एमालेका कैलालीका प्रभावशाली नेता तथा पूर्वसांसद मोहनसिंह राठौंर र रवनी चौधरी कांग्रेस प्रवेश गरेका हुन ।
तीनै जनालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अबीर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए।
विनाविभागीय राज्यमन्त्री श्रेष्ठले २०७० सालको संविधान सभा निर्वाचनमा एमाले नेता झलनाथ खनाललाई सर्लाही–१ मा पराजित गरेका थिए।
विनाविभागीय बनाइनुअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए।
पूर्व सांसद राठौर २०७० को चुनावमा कैलाली २ बाट निर्वाचित भएका थिए।
चौधरी २०७० मा एमालेको समानुपातिक कोटामा सांसद बनेकी थिइन्।
एमालेका दुई पूर्व सांसदहरुको नेपाली कांग्रेसमा भएको प्रवेशले प्रधानमन्त्री पत्नि तथा पूर्व सांसद डा. आरजु राणाको कैलालीको चुनावी अभियानलाई निकै बल पुग्ने देखिएको छ । नेपाली कांग्रेसले डा.आरजु राणालाई कैलालीबाट प्रत्यक्षतर्फ उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।