काठमाडौँ, १७ कात्तिक : नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा आठ छक्का र एक चौका हाने । यस्तै नारायण जोशीले १३ रन बनाए ।
बलिङतर्फ श्रीलङ्काका लागि थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई दुई तथा धनञ्जय लक्शन र कप्तान लिहुरु मदुसन्काले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो । श्रीलङ्काका लागि सदुन विराकोडीले १४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५० रन बनाए । यसैगरी कप्तान लिहुरु मदुसन्काले अविजित ३१, लाहिरु समराखोनले अविजित २२ र थनुका डबारेले १८ रन बनाए ।
बलिङतर्फ नेपालका लागि नारायण जोशी र प्रतिश जिसीले एक एक विकेट लिए । यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।
यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ ।
नेपालले भने अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ । प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र युएई मध्ये एक देशसँग आइतबार खेल्ने छ ।