Prakash Adhikari November 2, 2024

काठमाडौं, १७ कार्तिक । आईसीसी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) श्रृखलामा आज नेपालको राष्ट्रिय टिम र आयोजक अमेरिकी टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल नेपाली समय अनुसार आज(शनिवार) बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ।

ओडीआई श्रृखलामा नेपालको यो अमेरिकासँगको दोस्रो खेल हो । यसै श्रृखलाको आईतवार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । बुधवार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टुमा नौ वटा त्रिकोणात्मक श्रृखला खेल्नेछ । अमेरिकाको यो श्रृखला नेपालको तेस्रो श्रृखला हो ।

लिग २ अन्तरगत नेपालले हालसम्म खेलेका १० खेलमा २ जित, ७ हार र १ खेल रद्द हुँदा अंक बाडिन गई ५ अंक जोडेको छ । नेपाल लिगमा सहभागी ८ टिममा सातौं स्थानमा छ । ९ खेलमा ६ जित र ३ हार बेहोरेको अमेरिका १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले अमेरिका श्रृखलाको अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

अमेरिका श्रृखलामा नेपाली टिमको नेृतृत्व कप्तान रोहित पौडेलले गरेका छन् । टिममा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद रहेका छन् । जगेडा खेलाडीको रुपमा देव खनाल सागर ढकाललाई राखिएको छ ।

Share Now