जो टाइडी /साइबर संवाददाता,बीबीसी
लण्डन(संयुक्त अधिराज्य), २७ कार्तिक । संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा फेरि निर्वाचित भएपछि बिटकोइनको मूल्य अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको छ।
सन् २०२१ मा ट्रम्पले बिटकोइनलाई छल भन्नुभएको थियो। तर पछि उहाँले उक्त क्रिप्टोकरेन्सीका बारे आफ्नो धारणा फेर्नुभयो। यो वर्ष निर्वाचनको प्रचारप्रसारका बेला उहाँले बिटकोइनका समर्थकहरूसमक्ष अमेरिकालाई पृथ्वीको क्रिप्टो राजधानी बनाउने उद्घोष पनि गर्नुभयो।
ट्रम्पको जितपछि यो डिजिटल कोइनको मूल्य बढेको देखेर बिटकोइनधनीहरू हर्षित देखिन्छन्।
बिटकोइनको मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले ह्वात्तै घट्ने गरेको छ। तर यसको चर्चा मूल्यका कारण मात्र हुने गरेको छैन। सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटकोइनबारे निरन्तर समाचार बन्दै आएको छ।
बीबीसीले सबैभन्दा पुरानो र ख्यातिप्राप्त यो क्रिप्टोकरेन्सीको इतिहासमा देखा परेका सातवटा मुख्य घटना यहाँ प्रस्तुत गरेको छ।
१.बिटकोइनका आविष्कारक रहस्यकै गर्भमा
बिटकोइनका आविष्कारक को हुन् भन्ने कसैलाई पनि थाहा छैन। आफूलाई सातोशी नाकामोतो भनेर चिनाउने व्यक्तिले इन्टरनेट फोरमहरूमा सन् २००८ मा पहिलो पटक बिटकोइनको अवधारणाबारे चर्चा गर्नुभएको थियो।
उहाँले कसरी पिअर टू पिअर डिजिटल क्याश प्रणालीबाट मानिसहरू इन्टरनेटमार्फत् इमेल पठाए जसरी नै सजिलो गरी भर्चूअल कोइन पठाउन सक्छन् भनेर एउटा खाका प्रस्तुत गर्नुभएको थियो।
कारोबार गर्न सघाउन र विश्वभरि छरिएका स्वयंसेवीहरूको सञ्जाल प्रयोग गरेर नयाँ कोइन बनाउन उहाँले एउटा जटिल कम्प्युटर प्रणालीको निर्माण गर्नुभयो। नयाँ कोइन बनाउन संलग्न हुने स्वयंसेवीहरूले विशेष सफ्टवेअर र शक्तिशाली कम्प्युटर प्रयोग गर्थे।
न सिक्का न नोट हुने बिटकोइन के हो?
धेरै पत्रकार, क्रिप्टो फ्यान र अनुसन्धानकर्ताहरूले सातोशी को हुन् भन्ने पत्ता लगाउन निकै प्रयास गरेका छन्। तर अहिलेसम्म कोही पनि सफल भएको छैन।
सन् २०१४ मा पत्रकारहरूले बिटकोइनका रहस्यमय आविष्कारक भन्ठानेर जापानी नागरिक डोरिअन नाकामोतोलाई पछ्याए। तर उनीहरूले पाएको जानकारी मिथ्या प्रमाणित भयो।
अरू नाम पनि आएका छन्। तर अहिलेसम्म एक जनाले मात्र आफू सातोशी भएको दाबी गरेका छन्। सन् २०१६ मा अस्ट्रेलियाका कम्प्युटर वैज्ञानिक क्रेग राइटले आफू नै सातोशी भएको बताउनुभएको थियो।
बीबीसीसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “म सातोशी नाकामोतो हुँ। म यसको मुख्य अङ्ग हुँ। अरू मानिसले मलाई सघाए। केही मानिसले पत्याउँछन्। केही मानिसले तपाईँलाई सत्य भन्न दिँदैनन्। मलाई खासै मतलब पनि छैन।”
तर राइटले आफू सातोशी नाकामोतो भएको प्रमाणित गर्न सक्नुभएको छैन।
लामो समय मुद्दा चलेपछि लन्डनस्थित एउटा उच्च अदालतले सन् २०२४ मा उहाँ सातोशी नभएको निष्कर्ष निकाल्यो।
२. पिज्जा किन्न पहिलो कारोबार
बिटकोइनको पहिलो कारोबार मे २२, २०१० मा भएको थियो।
त्यो दिन भोक लागेपछि लास्लो हन्याचले एउटा अनलाइन क्रिप्टो फोरममा दुइटा पिज्जाका लागि ४१ डलर बराबरको बिटकोइन दिने प्रस्ताव राख्नुभयो। एक १९ वर्षे विद्यार्थीले उनको प्रस्ताव स्वीकार गर्नुभयो। त्यो दिन बिटकोइनको इतिहासमा विटकोइन पिज्ज दिवसका रूपमा लेखिएको छ।
बिटकोइन पारखीहरू प्रत्येक वर्ष मे २२ मा पिज्जा किनेर रमाइलो गर्छन् र मीम बनाउँछन्। मे २२ लाई इन्टरनेटमा उपलब्ध बिटकोइनको व्यावहारिक शक्ति देखाउने दिन मानिन्छ।
बिटकोइनमा अपराधीहरूको पनि दृष्टि परेको रहेछ। एक वर्षभित्रै बिटकोइन लिएर लागुपदार्थ र अन्य अवैध सामान बेच्ने पहिलो डार्कनेट बजार सुरु भयो।
लास्लो हन्याचले इतिहास त बनाउनुभयो तर अहिलेको अवस्थामा त्यति बिटकोइन दिएर दुइटा पिज्जा किन्ने उनको निर्णयले ठूलो घाटा लागेको देखिन्छ। यदि उहाँले बिटकोइन आफूसँगै राखेको भए अहिले त्यसको मूल्य करौडौँ डलर पुग्थ्यो ।
३. एल साल्भडोरमा वैधानिक मुद्रा
सेप्टेम्बर २०२१ मा एल साल्भडोरका राष्ट्रपति नायिब बुकेलेले बिटकोइनलाई वैधानिक मुद्रा बनाउनुभयो।
हजाम, सुपरमार्केट र अरू पसलले पनि सेवा र सुविधाबापत भुक्तानी लिन त्यहाँ प्रचलित मुख्य मुद्रा अमेरिकी डलरबाहेक बिटकोइन स्वीकार गर्नैपर्ने भयो।
उक्त निर्णयपछि बिटकोइनमा रुचि भएका धेरै व्यक्ति र पत्रकारहरूले एल साल्भडोरको भ्रमण गरे। केही समयका लागि यसबाट त्यहाँको पर्यटनमा राम्रो प्रभाव पर्यो।
देशमा लगानी बढ्ने र नागरिकहरूले मुद्रा सटही गर्दा हुने खर्च जोगिने राष्ट्रपतिको आशा थियो। तर बिटकोइन उनले सोचे जसरी लोकप्रिय भएन। त्यहाँको मुद्राबजारमा अमेरिकी डलरकै वर्चस्व छ।
राष्ट्रपति बुकेलेले सर्वसाधारण जनतालाई बिटकोइन स्वीकार गर्न प्रेरित गर्ने उद्देश्यले ठूलो रकम खर्च गरे। विगत केही वर्षमा उनी आफैँले ५,००० बिटकोइन किनेका छन्।
रकमको अभाव झेलेको देशलाई लाभ पुग्ने आशमा बिटकोइन किन्न उहाँले कम्तीमा १२ करोड अमेरिकी डलर खर्च गरे। ती बिटकोइन विभिन्न मूल्यमा किनिएका थिए।
गत डिसेम्बर महिनामा बिटकोइनको मूल्य ह्वात्तै बढेपछि पहिलो पटक उहाँको निर्णय तत्कालका लागि सही भए जस्तो देखिएको छ।
४. काजकस्तानमा क्रिप्टो उद्योगको उदय र समस्या
सन् २०२१ मा काजकस्तान बिटकोइन माइनिङका लागि केन्द्रबिन्दुजस्तै बन्यो। चीन र संयुक्त राज्य अमेरिकाबाट लगानीकर्ताहरू त्यहाँ ओइरिए।
बिटकोइन बनाउन र त्यसको सञ्जाललाई सुरक्षित राख्न जटिल गणना गर्ने शक्तिशाली माइनिङ कम्प्युटर चलाउन बिजुलीको माग उच्च हुने भएकाले माइनरहरू काजकस्तानतिर आकर्षित भएका थिए।
अहिले गोदामहरूमा अत्याधुनिक कम्प्युटरहरू रातदिन चल्छन्। त्यसबाट माइनिङ गर्ने कम्पनीहरूले नयाँ बिटकोइन बनाउँछन्।
काजकस्तानमा कोइलाबाट बिजुली उत्पादन हुन्छ। ठूलाठूला कोइलाखानी भएकाले र पर्याप्त बिजुली उत्पादन हुने गरेकाले धेरै माइनरहरू त्यहाँ गए। विदेशबाट लगानी भित्रिएकाले सरकारले पनि स्वागत गर्यो।
तर माइनरहरूको ओइरो लागेकाले विद्युत् प्रसारण प्रणालीमा चाप पर्यो र देशमा आपूर्ति अवरुद्ध हुने जोखिम बढ्यो।
एक वर्षभित्रै काजकस्तानको बिटकोइन माइनिङ उद्योगमा सरकारले कडाइ गर्न थाल्यो। बिटकोइन माइनिङ वृद्धिलाई रोक्न कर बढाइयो।
बिटकोइन सञ्जालले विश्वभरि खपत गर्ने बिजुली एउटा सानो देशले खपत गर्ने परिमाणजति नै भएको अनुमान गरिन्छ।
५. फोहोरमा १० करोड डलरको बिटकोइन
जेम्स हावल्स ठूलो सङ्ख्यामा बिटकोइन भएको आफ्नो क्रिप्टो वालेट खोज्न लागि पर्नुभएको छ। त्यो वालेटमा भएका ८,००० वटा बिटकोइनको मूल्य अहिले कम्तीमा १० करोड डलर पर्छ।
यूकेको दक्षिणी भेगमा बस्ने हावल्सले आफ्ना बिटकोइनको लगइनसँग सम्बन्धित जानकारी राखिएको हार्डड्राइभ झुक्किएर फाल्नुभएको थियो।
क्रिप्टोमा गरिएको जटिल व्यवस्थाका कारण फेरि बिटकोइन फेला पार्न अरू पासवर्ड रिसेट गर्न जस्तो सजिलो हुँदैन। कुनै पनि ब्याङ्क वा औपचारिक संस्था संलग्न नहुने भएकाले आपत् पर्दा ग्राहकले सहयोग पनि पाउँदैनन्।
हावल्सले स्थानीय निकायबाट फोहोर फालिएको ल्यान्डफिल साइटमा हार्डड्राइभ खोज्न अनुमति माग्नुभएको थियो। बिटकोइन हात परे त्यसको २५ प्रतिशत स्थानीय परोपकारी संस्थाहरूलाई दिन उहाँ तयार भए पनि उहाँले त्यहाँ जाने अनुमति पाउँनुभएन।
“त्यो सियो खसे जस्तो घटना थियो र डुबे जस्तो अनुभूति भएको छ। ‘मैले यो के गरेँ ? ’ मैले सोचेँ। पहिला कहिल्यै पनि हार्डड्राइभ फालेको थिइनँ। तर यसपालि किन?” उहाँले भन्नुभयो।
६. ‘किङ अफ क्रिप्टो’ले ठगी गरेको ठहर, २५ वर्षको जेल सजाय
कुनै बेला ‘किङ अफ क्रिप्टो’ उपनाम पाएका साम ब्याङ्कम्यान फ्रीडले जति बिटकोइन अरू कसैले गुमाएको छैन। उहाँ विशाल क्रिप्टो फर्म एफटीएक्सका सहसंस्थापक हुनुहुन्छ।
एफटीएक्समार्फत् सर्वसाधारण मानिसले बिटकोइनजस्ता क्रिप्टोकरेन्सीसँग परम्परागत मुद्रा सटही गर्ने सुविधा पाएका थिए।
त्यो व्यवसायको मूल्य झन्डै ३२ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो। तर त्यो केही दिनमै धराशायी भयो।
पत्रकारहरूले ब्याङ्कम्यानफ्रीडको कम्पनी वित्तीय रूपमा अस्थिर रहेको र त्यसले आफ्ना ग्राहकको रकम उनको अर्को कम्पनी ‘एलमीडा रिसर्च’लाई बलियो बनाउनका लागि अवैध रूपमा सारिरहेको पत्ता लगाए।
डिसेम्बर २०२२ मा बहामसमा पक्राउ पर्नुअघि उनले संवाददाताहरूसँग कुरा गरेका थिए।
“मलाई आफूले ठगी गरे जस्तो लाग्दैन। म यो होस् भन्ने चाहन्नथेँ। म आफूलाई लागे जस्तो सक्षम रहेनछु,” उहाँले बीबीसीसँग भन्नुभएको थियो।
उहाँलाई संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरियो। अमेरिकाको अदातलले ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा उनलाई दोषी ठहर गर्यो। भर्खरै उहाँलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।
७. लगानीको ओइरो
विभिन्न खालका समस्या देखा परे पनि बिटकोइनले लगानीकर्ता र ठूला कम्पनीहरूको ध्यान तानिरहेकै छ।
सन् २०२४ को ज्यानुअरीमा विश्वका केही ठूला वित्तीय संस्थाहरूले बिटकोइनलाई ‘स्पट बिटकोइन ईटीएफ’जस्ता आफ्ना आधिकारिक सम्पतिको सूचीमा थपे। ती स्टक र शेअरजस्तै हुन्छन् अनि बिटकोइनको मूल्यसँग जोडिएका हुन्छन्।
ग्राहकहरूले यस प्रकारका नयाँ कुरामा अर्बौँ डलर लगानी गरिरहेका छन्। ब्ल्याकरक, फिडेलटी र ग्रेस्केलजस्ता कम्पनीले ठूलो परिमाणमा बिटकोइन किनिरहेका छन्। त्यसबाट बिटकोइनको मूल्य उत्कर्षमा पुगेको छ।
क्रिप्टोका केही प्रशंसकहरू सातोशीले कल्पना गरेअनुरूप बिटकोइनलाई बल्ल गम्भीरतापूर्वक लिन थालिएको ठान्छन्।
तर अरू मानिस सतर्क देखिन्छन्। उनीहरू बिटकोइन अर्कै बाटोमा अगाडि बढेको हो कि भन्ठान्छन्। मानिसको दैनिक जीवनको खर्चका लागि भन्दा पनि सुनमा जस्तो लगानी गर्न बिटकोइन प्रयोग हुन सक्ने उनीहरूको अनुमान छ।