Prakash Adhikari November 14, 2024

काठमाडौँ, २९ कात्तिकः सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्केको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) सम्पन्न आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएर इतिहास रचेको टिमलाई विमानस्थलमा नेपाल क्रिकेट संघ र क्रिकेट खेलाडीहरुले भव्य स्वागत गरेका थिए ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो ।
त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् ।

नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

विश्वकप खेल्ने टीमलाई जनही रु २ लाख ५० हजार पुरस्कार प्रदान

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

टिममा समावेश अफिसियलहरूलाई भने जनही रु १ लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

Share Now