वीरेन्द्रनगर(सुर्खेत), २४ मंसिर । हुम्लादेखि पश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसंगै स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बन्दै गएको राष्ट्रिय समाचार समितिका स्थानीय संवाददाताहरुले जनाएका छन् ।
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
बैतडीसँगै, दार्चुला, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।
बाजुरामा वर्षासँगै हिमपात
बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।
हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताउनुभयो ।
यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।
यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताउनुभयो ।
वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् । गहुँ बालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा आएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
हुम्लामा हिमपात
हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
—