Prakash Adhikari December 15, 2024

काठमाडौँ, ३० मङ्सिर । यस बर्षको उभौली , योमोरी पुन्ही तथा धान्य पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री के.पी. शर्मा ओलीले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा दिइएको सन्देशमा राष्ट्रपति पौडेलले यी पर्वहरुबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उधौली पर्व तथा योमोरी पुन्ही तथा धान्य पूर्णिमा २०८१ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले मनाउने उधौली पर्वको महत्व उल्लेख गर्दै यसले परम्परागत वेशभूषा, संस्कृति, नृत्य, बाजा, गीत र संगीतको संरक्षण र सम्बर्धनमा पनि उत्तिकै सघाएको बताउनुभएको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।”

प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ ।

त्यस्तै नेवारी समुदायमा विशेष पर्वको रुपमा मनाइने योमोरी पुन्ही तथा धान्य पूर्णिमाले कृषिमा आधारित नेपालीको मुख्य बालीको रुपमा रहेका धानको महत्व दर्शाउन सघाउनुका साथै यस अवसरमा बनाइने विशेष परिकारले जाडोबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिई जोगाउन मद्दत गर्ने पनि उहाँले बताउनुभएको छ ।

उहाँले विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको उल्लेख गर्नुभएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भन्नुभएको छ, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताउनुभएको छ ।

Share Now