मस्को(रुस), १८ असार । रुसमा जारी विश्वकप फुटबलको आइतबार राती सम्पन्न क्रोएशीया तथा डेनमार्कबीचको खेलमा क्रोएशिया विजयी भएको छ। क्रोएशियाले पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३-२ ले हराएको हो।
निर्धारित ९० मिनेटको खेल एक(एकको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
टाइब्रेकरमा पुग्नु अघि क्रोएशियाले खेलको ११७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो तर लुका मोड्रिकले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलरक्षक कास्पर सेमिचेल उत्कृष्ट बचाउ गरे जसका कारण खेल टाइब्रेकरमा पुग्यो ।
खेलमा पहिलो अग्रता डेनमार्कले लिएको थियो। उसले खेलको दोश्रो मिनेटमा नै गोल गरेको थियो।डेनमार्कका लागि ओर्गेनसनले सो गोल गरेका थिए।
तर डनमार्कको अग्रतालाई क्रोएशियाका म्यान्डुजेकले दुई मिनेट पनि टिक्न दिएनन्। खेलको चौथो मिनेटमा नै उनले बराबरी गोल फर्काएका थिए।
क्रोएशियाको भेट अब क्वाटरफाइनलमा आयोजक राष्ट्र रसियासँग हुनेछ।