Prakash Adhikari April 28, 2025

नयाँदिल्ली(भारत), १५ वैशाख(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै रोयल च्यालेञ्जर्स बंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

भारतको राजधानी दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले पराजित गर्दै रोयल च्यालेञ्जर्स बंगलोर अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ६३ रनको चुनौती आरसीबीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।‌

आरसीबीले सुरूमा खराब गर्यो। उसले २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब बेथेल १२ रनमा र देवदत्त पाडिक्कल बिना कुनै रन तथा कप्तान रजत पाटिदार ६ रनमा रन आउट हुन पुगे।

तर त्यसपछि विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि १ सय १९ रनको साझेदारी गर्दै जितको आधार बनाए। विराट ५१ रनमा आउट भए।

क्रुनालले ४७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोड्दै आरसीबीलाई सहज जित दिलाए। बलिङमा अक्षर पटेलले २ विकेट लिए।

त्यसअघि अरूण जैटली स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो। दिल्लीले २० ओभरमा ब्याटिङ गर्न संघर्ष गर्नुपर्यो । दिल्लीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेन। दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६२ रनको योगफल बनायो।

खेलमा ओपनर अभिषेक पोरेल २८ रनमा र करूण नायर ४ रनमा आउट भए। पावर प्लेमा दिल्लीले २ विकेटको नोक्सानीमा ५२ रन मात्र बनाएको थियो।

अर्का ओपनर फाफ डु प्लेसिस २२ रनमा, कप्तान अक्षर पटेल १५ रनमा र केएल राहुल ४१ रनमा आउट भए। लगतै आशुतोष शर्मा २ रनमा पबिलियन फर्कदा ६ विकेटको नोक्सानीमा दिल्लीले १ सय २० रन बनायो।

यसपछि मिचेल स्टार्स बिना कुनै रन आउट हुन पुगे। ट्रिस्टान स्टब्स १८ बल खेल्दै ३४ रनको पारी खेले।

बलिङमा आरसीबीका जोश हेजलउड २ र भुवनेश्वर कुमारले ३ समान विकेट झारे।

हालसम्म खेलिएका १० खेलबाट १४ अंक बनाउँदै आरसीबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको गुजरातले आरसीबीको भन्दा २ खेल कम खेलेको छ। ९ खेल खेलेको दिल्लीको १२ अंक छ।

Share Now