Prakash Adhikari May 9, 2025

-शरद केसी । बीबीसी न्यूज नेपाली

काठमाडौं, २६ वैशाख । कट्टर गणतन्त्रवादी लेखक खगेन्द्र सङ्ग्रौलाले हालै ुकान्तिपुरु दैनिकमा आफ्नो स्वाभाविक भाषा र शैलीमा राजसंस्था फर्काउने प्रयत्नप्रति तीखो प्रहार गर्नुभएको छ ।

“पूर्वराजा र राजभक्तका दुःख” शीर्षकमा उहाँले लेख्नुभएको छ, “पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ- इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु बिरबलको खिचडी पाक्नुजस्तै हो।”

तर लेख प्रकाशित भएको भोलिपल्ट वैशाख २५ गते बिहीवार उमेरले उहाँभन्दा पनि जेठा पञ्चायतकालीन नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ।

राजभक्त भन्दै सङ्ग्रौलाले गिज्याएकाहरूले अहिले घोषणा गरेको आन्दोलनको परिस्थिति र स्वरूप विगतभन्दा भिन्न देखिन्छ।

काठमाडौंको सुकेधारास्थित एउटा ुपार्टी प्यालेसुमा आन्दोलन घोषणा हुँदा राजसंस्था पुनर्स्थापना पक्षधरहरूमा विगतभन्दा भिन्न उत्साह देखिन्थ्यो।

राजसंस्था पुनर्स्थापना पक्षधर सबै मुख्य राजनीतिक दलहरूले संयुक्त आन्दोलनमा एकताबद्ध भएको पहिलो पटक हो।

त्यही एकताबद्धता र प्रतिबद्धताका साथ सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखिको अनिश्चितकालीन आन्दोलन घोषणा गरेको छ।

राजावादीमा ऊर्जा र आशाको कारण के?

खास गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सुवेदीद्वारा यसअघि आयोजित कार्यक्रमहरूमा सहभागी भएका थिएनन्।

उहाँसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टले सम्बोधन गर्दै आन्दोलनलाई परिणाममा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

विष्टले उक्त घोषणालाई आफ्नो जीवनको खुसीको दिनको रूपमा लिएको अनुभूति सुनाए भने थापाले अग्रणी भूमिका लिङ्देनको हुने भन्दै प्रोत्साहित गर्न खोजेको देखियो।

उहाँले आफूहरूबीचको एकताप्रति कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भन्नुभयो, “चाँडै भ्रष्ट शासन र शासकबाट देशलाई मुक्त पार्दै राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गरी सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल नगर्दासम्म एकताबद्ध रहने विश्वास दिलाउन चाहन्छु।”

यसअघि राप्रपाको महाधिवेशनमा थापालाई हराएर अध्यक्ष बनेका लिङ्देनले पनि थापालाई ुदाइु सम्बोधन गर्दै एकताबद्ध रहने वाचामा समर्थन जनाउनुभयो।

अब राजनीतिक ध्रुवीकरणलाई बल दिने उद्देश्य उहाँले लुकाउनुभएन।

“कांग्रेस, एमाले, माओवादी तथा अन्य पार्टी र शक्तिमा रहेर पनि राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा रहनुभएकाहरूलाई पनि यो ध्रुवीकरणमा सामेल हुन म आग्रह गर्न चाहन्छु”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “गणतन्त्र र धर्मनिरपेक्षताले नै देशलाई ठिक लगाउँछ भन्नेहरू यता कतै अलमलिएर बसेका छन् भने उनीहरू पनि उता जानुपर्छ।”

राप्रपा नेपालका नेता राजाराम बर्तौलाले विगतमा एउटै पार्टीमा रहेका नेताहरू फेरि एउटै मञ्चमा एकताबद्ध हुँदा त्यसले ठूलो उत्साह र ऊर्जा सञ्चार गरेको प्रतिक्रिया दिए।

उहाँले भन्नुभयो, “निर्णायक आन्दोलनका निम्ति यो अपरिहार्य थियो, हिजोसम्म नेताहरू एक भइदिए हुन्थ्यो भन्ने कार्यकर्ताहरूमा पनि यसले उत्साह थपेको छ। यसले हाम्रो आन्दोलनलाई निर्णायक बनाउन बल दिन्छ नै।”

पूर्वराजासँगको भेटपछि जुरेको सहकार्य

तर धेरैलाई चासो लागिरहेको छ, विगतका राजनीतिक परिवर्तनका आन्दोलन दलको अगुवाइमा भएको बताउँदै सुवेदीलाई स्वीकार गर्न हिचकिचाइरहेको राप्रपा कसरी तयार भयो?

पूर्वराजाले सघाएर आफूलाई हराएको भन्दै लिङ्देनसँग छुट्टिएका कमल थापाले अचानक कसरी लिङ्देनमाथि ठूलो जिम्मेवारी रहेको सार्वजनिक रूपमा बताइरहनुभएको छ ?

कतिपय जानकारहरू दलहरूका आआफ्नै दाउपेच, रणनीति वा स्वीकारोक्तिले त्यसलाई निर्देशित गरेको हुन सक्ने ठान्छन्।

तर अर्काथरी जानकारहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन्।

पूर्वराजासँग राप्रपाका नेताहरूको संयुक्त भेटमा सहभागी नेता बुद्धिमान तामाङका भनाइमा अहिले देखिएको एकता पूर्वाराजाको पहल वा सहजीकरणको परिणाम होइन।

“खास गरेर हाम्रो पार्टीमा पनि संयुक्त रूपमा जानेबारे कुरा भइरहेकै थियो, हाम्रा साथीहरू पनि थुनामा छन्। त्यसैले एक भएरै आन्दोलनमा जानु ठिक हुन्छ भनेर यो निर्णय गरेका हौँ “, नेता तामाङले भन्नुभयो , “सबैभन्दा ठूलो दलको साथ उहाँहरूका निम्ति पनि अनिवार्य थियो।”

कतिपय जानकारहरूका अनुसार पूर्वराजाको इच्छामा सुवेदीलाई आन्दोलनको अगुवा बनाइएको भन्दै राप्रपाका अध्यक्ष लिङ्देनलगायत असन्तुष्ट थिए। अनि नेताद्वय थापा र विष्टले पनि उनको नेतृत्व स्वीकार गर्न असहज मानिरहेको बुझाइ पाइन्थ्यो।

पूर्वराजाले भेटघाट नदिएको भन्दै नेताहरू थप असन्तुष्ट रहेको बताइन्थ्यो। तर पछिल्ला दिनहरूमा राजावादी नेताहरूले पूर्वराजासँग भेटघाटको अवसर पाइरहेका छन्।

त्यसले पनि परिस्थिति सहज बनाइदिएको एकथरीको बुझाइ पाइन्छ।

जगमान गुरुङको रित्तो कुर्सी

सुवेदी घरमै अघोषित नजरबन्दमा परेपछि उहाँले संस्कृतिविद् जगमान गुरुङलाई कार्यवाहक संयोजकको जिम्मेवारी दिनुभएको थियो ।

बिहीवारको घोषणा कार्यक्रममा सुवेदीका साथै अन्य नेताहरूसँगै गुरुङका निम्ति पनि कुर्सी राखिएको थियो। तर उहाँ कार्यक्रममा देखिनुभएन।

सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने समय र आन्दोलन घोषणाको समय जुधेर आफू नगएको गुरुङले बताउनुभयो।

साधनाबाट शक्ति आर्जनको अभिभारा

आफूले कार्यक्रम बहिष्कार नगरेको बताए पनि उहाँले आफू आन्दोलनमा सहभागी नहुने कुरा लुकाउनुभएन ।

“भौतिक आन्दोलन एकातर्फ, शास्त्रीय साधना गर्ने एक पक्ष। म चाहिँ साधना गर्नतर्फ लागेको छु”, कारणबारे उहाँले जबाफ दिनुभयो, “तर उद्देश्य एउटै हो, एकअर्काको परिपूरक। हाम्रो साधनाले उहाँहरूको आन्दोलन सफल हुन्छ, राजाको पनि अभीष्ट सिद्धि हुन्छ।”

तर गुरुड.ले संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक हुँदा चैत १५ गतेको घटनापछि पक्राउ परेकाहरू रिहा नगरिए वैशाख २२ गतेदेखि सामूहिक गिरफ्तारी दिने घोषणा गर्नुभएको थियो।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेताहरू अझै पनि थुनामै हुनुहुन्छ।

उहाँले त जेठ १५ गतेसम्म शाह राजगद्दीमा बस्ने घोषणा पनि गर्नुभएको थियो जबकि समितिले त्यस दिनदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको छ।

घोषणा सभामा सहभागी काठमाडौं उपत्यकाबाहिरका एक कार्यकर्ता भने बर्खा सुरु हुने बेला घोषणा गरिएको आन्दोलनप्रति संशय प्रकट गर्दै हुनुहुन्थ्यो।

“निर्णायक भनिए पनि अब आन्दोलन अर्को वर्षसम्म चल्ने भयो”, ती कार्यकर्ताको भनाइ थियो।

राजसंस्था पक्षधर दल र समूहहरूले विगत लामो समयदेखि अलगअलग भए पनि आन्दोलन गर्दै आएका थिए।

वारपार गर्ने भने पनि केही समयपछि आन्दोलन शिथिल हुने गरेको पाइन्छ। तर यस पटकको आन्दोलनलाई नयाँ मोड दिएर निर्णायक बनाइछाड्ने दृढता नेताहरूले व्यक्त गर्नुभएको छ।

Share Now