Prakash Adhikari May 11, 2025

 

नयाँदिल्ली(भारत), ८ वैशाख(बीबीसी) ।भारत र पाकिस्तानले केही दिनदेखि सीमापारि सैन्य आक्रमण गर्ने क्रमलाई तत्काल रोक्ने गरी ुपूर्ण युद्धविरामु घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति उल्लङ्घन गरेको आरोप लगाएका छन्।

शनिवार राति भारत(प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले ‘हामीले गरेको सहमतिको पटकपटक उल्लङ्घन’ भएको बताउनुभयो।

त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको प्रत्यारोप लगायो। तर उसले पाकिस्तान युद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्ध भएकोमा जोड दियो।

भारत र पाकिस्तानबीच गत बुधवार मध्यरापछि चलेको लडाइँलाई केही दशकयताको सबैभन्दा नराम्रो सैन्य द्वन्द्व मानिएको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ुट्रूथ सोशलुमा भारत र पाकिस्तानबीच युद्धविरामको सहमति घोषणा गर्दै त्यसका लागि अमेरिकाले मध्यस्थता गरेको बताउनुभएको थियो।

पछि भारत र पाकिस्तानका अधिकारीहरूले सहमति भएको पुष्टि गरे। पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न ‘तीन दर्जन देशहरू’को कूटनीतिक संलग्नता भएको बताए।

तर त्यसको केही घण्टापछी भारत(प्रशासित कश्मीरका श्रीनगर र जम्मू क्षेत्रमा स्थानीय बासिन्दा तथा बीबीसी संवाददाताहरूले विस्फोटनहरू भएको सुने र आकाशमा उज्यालो भएको देखे।

भारतले के भनेको छ ?

स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा विदेश सचिव विक्रम मिसरीले भन्नुभयो, “केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।”

उहाँले भन्नुभयो,”भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ। यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।”

अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव विक्रम मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गर्नुभयो।

उहाँले भन्नुभयो,”पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कारबाही गरोस्।”

“सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उसलाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।”

यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिनुभएको थियो।

भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताउनुभएको थियो।

पाकिस्तानको प्रतिक्रिया

भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलेले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गर्नुभयो।

शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिनुभयो र भन्नुभयो , “यो पाकिस्तानको ऐतिहासिक जित हो ” । उहाँलेले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गर्नुभयो।

शरीफले सम्बोधनको सुरुवात गर्दै भन्नुभयो, “यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।”

उहाँले दाबी गर्नुभयो – उहाँको देशविरुद्ध लगाइरहेको आरोप निराधार छ र उहाँ यसको जाँच होस् भन्ने चाहनुहुन्छ।

शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन।

 विस्फोटको आवाज सुनियो !

भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताउनुभएको थियो।

सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उहाँले भन्नुभयो,”संघर्षविरामको कुरा के भयोरु श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।”

त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भन्नुभयो,”कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन्। यहाँ पूरै ब्ल्याक आउट गरिने छ।”

दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेले श्रीनगरमा रहेका बीबीसीको टोलीले पनि विस्फोटका आवाजहरू सुनेको बताउनुभएको छ ।

तर उहाँ भन्नुहुन्छ, “त्यस्तो विस्फोटको आवाज कताबाट आएको हो स्पष्ट भैसकेको छैन।”

Share Now