Prakash Adhikari May 11, 2025

काठमाडौं, २७ वैशाख । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघको समन्वयमा नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् ।

नेपाली टोलीमा विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह, ब्याटरहरु कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख रहेका छन् ।

टोलीमा अलराउन्डर गुलशन झा र बसीर अहमद र बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी रहेका छन् ।

क्यानले लिग २ अन्तर्गत सिरिजपछि हुने टी २०आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा छन् ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग २ अघि अभ्यास खेलहरु खेल्नेछ । नेपालले स्कटल्याण्ड ए सँग दुई अभ्यास खेल खेल्ने तालिका छ । लिग २ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

Share Now