Prakash Adhikari May 27, 2025

पोखरा(कास्की), १३ जेठ । नवौं पीएम कप एनएभी लिग अन्तरगत पुरुष तर्फ फाइनल र तेस्रो स्थान खेल्ने टिमको टुंगो लागेको छ । यद्यपि टिमहरुले अन्तिम खेल खेल्न बाँकी छ । प्राप्त अंकका आधारमा फाइनल र तेस्रो स्थानका लागि खेल्ने टोली छनोट भएका हुन् । अब हुने खेलमा जित वा हार भए पनि त्यसमा परिवर्तन नहुने अवस्था छ ।

त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित हासिल गरे छि शीर्ष ४ टोलीको टुंगो लागेको हो ।

मंगलवारको अन्तिम खेलमा  आर्मीले नेपाल पुलिस क्लबलाई‌ ३-१ सेटले हरायो । आजको अन्तिम खेलको नतिजापछि टिप टप हेल्प नेपाल फाइनलमा पुगेको छ।

गण्डकी प्रदेशले त्यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। आर्मी र नेपाल पुलिसले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने तय भएको छ।

मणिमुकुन्द भलिबल क्लब, नेपाल एपिएफ क्लब, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लिग चरणबाट बाहिरिएका छन् । सबै टोलीले लिग चरणको अन्तिम खेल भोलि खेल्नेछन्। अबको‌ नतिजाले खासै अर्थ राख्ने छैन।

पुलिसलाई फाइनल प्रवेशको संभावनालाई कायमै राख्न जितको विकल्प थिएन । तर आर्मीले पुलिसलाई २५-२०, २५-२२, २८-२६ र २५-१८ ले हरायो। यो जितपछि आर्मीले अंक तालिकामा चौथो स्थान पक्का गर्यो।

चौथो जितपछि आर्मीको ११ अंक पुगेको छ।‌ पुलिस १२ अंक सहित तेस्रो स्थानमा छ। शीर्षस्थानको गण्डकीसँग १७ र दोस्रो स्थानको हेल्प नेपालको १६ अंक छ।

यसअघि आज भएका खेलमा गण्डकी , एपिएफ र मणिमुकुन्दले जित निकालेका छन्।

साविक विजेता हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको थियो।

महिलातर्फ पनि न्यु डायमण्ड र पुलिस फाइनलमा

महिलातर्फ पनि न्यु डायमण्ड र पुलिस फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्। एपिएफलाई सोझो सेटमा हराउँदै न्यू डायमन्डले फाइनलमा स्थान पक्का गरेको हो।

न्यु डायमण्डको जितमा पुलिसले पनि फाइनलमा प्रवेश गर्यो। न्यु डायमण्ड र पुलिस नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

नेपाल एपिएफ र एभरेष्ट भएन बल क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने तय भएको छ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

Share Now