Prakash Adhikari May 27, 2025

 

पोखरा (कास्की), १३ जेठ । नवौं पीएम एनभीए कप लिग अन्तरगत महिलातर्फ नेपाल पुलिस र न्यु डायमण्ड फाइनलमा पुगेका छन् ।

नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ ।

काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको पुलिस र न्यु डायमण्ड यसपटलको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन्।

एपिएफलाई २५-१८, २५-२२ र २५-१६ ले हराउँदै न्यु डायमण्ड सोझो सेटको जित निकाल्यो। लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ। दोस्रो स्थानको पुलिसको ११ अंक छ।

आज यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई‌ ३-० को जित निकाल्यो।
एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ।

कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग पूरा गर्यो। महिलातर्फ भोलि पुलिस र न्यु डायमण्ड तथा एपिएफ र एभरेष्टबीच खेल तय छ। बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।

नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण भइरहेको छ।

Share Now