Prakash Adhikari May 30, 2025

 

न्यू चण्डीगढ (पञ्जाब), १६ जेठ(एजेन्सी) । इण्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत बिहिवार भएको खेलमा विजयी बन्दै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ।‌

पञ्जाब किंङ्सलाई उसकै गृहमैदानमा भएको खेलमा ८ विकेटले हराउँदै आरसीबी फाइनलमा पुगेको हो।

जितको लागि पञ्जाबले दिएको १ सय २ रनको लक्ष्य आरसीबीले १०.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।

ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । मयांक अग्रवालले १९ रन बनाए।

कप्तान रजत पाटिदार अविजित १५ रनमा र विराट कोहलीले १२ रन बनाए । बलिङमा क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए।

त्यसअघि न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसीबीले टस जित्यो।

आरसीबीले पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। खेलमा पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा १४.१ ओभरमा सबै विकेट गुमाउँदै उसले मात्र १ सय १ रन मात्र बनाउन सक्यो।

आरसीबीका बलर सामु कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। न त साझेदारी बन्न सक्यो। न त कुनै एक खेलाडीले इनिङ्स नै सम्हाल्न सके।

मार्कस स्टोनिसले सबैभन्दा बढी २६ रन तथा प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओम्रजाइले समान १८ रन बनाए ।

यी तीन वाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। पञ्जाबले ११ रन एक्स्ट्रा पाएको थियो।

बलिङमा सानदार प्रदर्शन गरेको आरसीबीको लागि सुयष शर्माले सबैभन्दा किफायती बलिङ गरे। उनले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए।

यस्तै जोश हेजल उडले पनि ३ विकेट लिए भने यश दयालले २ विकेट।

पञ्जाबले फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ ।

पञ्जाबले इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ ।

Share Now