Prakash Adhikari June 4, 2025

एडेनवर्ग(स्कटल्याण्ड)२१ जेठ । नेपाली ब्याटर आरिफ शेख चम्किएपछि स्कटल्याण्डमा भइरहेको आइसीसी विश्वकप लिग टुको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

स्कटल्याण्डको डुन्डीमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

खेलमा नेपालका आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७८ रन बनाए ।

टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६१ बलमा ३ चौकाको सहयोगमा नट आउट ३८ रन बनाए । पाँचौ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा ३ चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा १ चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेख २२ बलमा ३ चौकाको सहयोगमा १९ रनमा आउट भए । भीम सार्की २६ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए ।

नेदरल्याण्ड्सका माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ । १ विकेट लिए

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ रनको योगफलमा समेटियो ।

नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । सोमपालले कोसलाई आउट गरे भने मिर्वो करन के।सी।को बलमा २१ रन बनाएको अवस्थामा रन आउट भए । उनीसंगै नेदरल्याण्ड्सको नवौं विकेट पतन भयो ।

त्यसपछि ब्याट सम्हालेका भिभियन किंग्मा सोमपाल कामीको बलमा एक रन जोडेको अवस्थामा आउट भएपछि नेदरल्याण्ड्स २ सय २५ रनमा समेटिन पुगेको हो ।

नेदरल्याण्ड्सको लागि कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा ४६ रन जोडे । उनी ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।

ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे ।

खेलमाँ सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंहलाई ३८ रनमा आउट गराए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका उत्कृष्ट बलर सन्दीप लामिछानेले तोडेका थिए ।

उत्कृष्ट सुरुवात गरेको नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो ।

पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई करन के.सी.को बलमा नेपालले ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स बोल्ड आउट भएका थिए।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ । २ विकेट लिए ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

लिग टुको चौथो राउण्डमा नेपालको बाँकी खेल तालिका यसप्रकार छः

जेठ २५ (जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्ध
जेठ २७ (जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

Share Now