Prakash Adhikari June 5, 2025
चन्द्रपुर (रौतहट), २२ जेठः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नभएको बताउनुभएको छ ।
गृहनगर रौतहटको गौरमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सान हुने कुनै पनि निर्णय नगरेको बताउनुभयो । “म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन”, उहाँले भन्नुभयो–“सबै हेर्ने न्याय जीउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।”
अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताउनुभयो । अहिलेसम्म आफुले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उहाँको भनाइ थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर गरेपछि उहाँ आजै  काठमाडाँै फर्कनुभएको छ ।
Share Now