काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिएका छन् ।
‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उहाँले लेख्नुभएको छ ।
ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने जानकारी दिनुभएको छ ।
ट्रम्पका अनुसार औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ।
‘२४ औं घण्टामा भने ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ,’ राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ, ‘युद्धविराम अवधिभर एक पक्ष शान्त र सम्मानजनक व्यवहारमा रहनेछ, जब अर्कोतर्फबाट युद्धविराम जारी हुनेछ।’
ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेख्नुभएको छ, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु।’
यो युद्ध वर्षौंसम्म तानिनसक्ने र पूरै मध्यपूर्वलाई विनाशतर्फ लैजान सक्ने भन्दै उहाँले थप्नुभएको छ, ‘तर त्यसो भएन, र अब कहिल्यै हुनेछैन।’
राष्ट्रपति ट्रम्पको दाबी मात्रै भएको इरानी पक्षको कथन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम हुने घोषणालाई इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूले ट्रम्पको ‘दाबी’ का रूपमा उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार, तेहरानबाट डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
इरानी सञ्चारमाध्यमहरू, विशेषगरी सरकारी सञ्चार संस्थाहरूले, यस घोषणालाई ‘ट्रम्पको दाबी’ भनेर मात्र उल्लेख गरेका छन् । उनीहरूले सतर्कतापूर्वक प्रतिक्रिया दिइरहेका छन्।
यसैबीच, इजरायली सेनाले (आईडीएफ) तेहरानका विभिन्न तीन जिल्ला खाली गर्न आज राति आदेश दिएको छ । इरानमा कैयौँ विस्फोटको रिपोर्टहरू आएका छन् ।त्यसैले राष्ट्रपति ट्रम्पको दावीमा विश्वास गर्ने आधार कमजोर छ ।
केही इरानी अधिकारीहरूले ट्रम्पको युद्धविराम दाबीलाई अर्को झुटको संज्ञा दिएका छन् ।
इरानी पक्षले यसलाई ‘अमेरिकी राष्ट्रपतिको झूट’ को संज्ञा दिंदै इरानीहरूमाथि दबाब सिर्जना गर्न यस्तो गरिएको प्रतिक्रिया दिएको हो ।
तेहरान टाइम्सले इरानी पक्षले यसलाई ‘ट्रम्पले इरानी सरकारलाई युद्धविराम स्वीकार गर्न बाध्य पार्ने उद्देश्यले नयाँ झुट बोलेको विश्लेषण गरेको’ उल्लेख गरेको छ । यस्तो प्रस्तावले इरानी जनतालाई आफ्नै अधिकारीविरुद्ध उकास्न सक्ने र देशभित्र असन्तोष सिर्जना हुन सक्ने आकलन गर्दै ट्रम्पले झुटो बोलेको उनीहरूको दाबी छ ।
इरानी संसदका सभामुखका सल्लाहकार महदी मोहम्मदीले एक्समा , ‘अमेरिका र इजरायल झुट बोलिरहेका छन्। उनीहरू इरानले सतर्कता घटाओस्, ताकि उनीहरूले तनाव अझै बढाउन सकून् भन्ने चाहन्छन् ।’ भनेर लेख्नुभएको छ,
इरान–इजरायल द्वन्द्व जुन १३ तारिखबाट सुरु भएको हो। इरानीहरू अमेरिकासँग छैटौँ चरणको वार्तामा सहभागी हुन तयारी गरिरहेका बेला उक्त हमला भएको थियो ।
यसैबीच, रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेइख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको द्वन्द्वमा युद्धविरामको प्रस्तावमा तेहरानको सहमति पक्का गरेको उल्लेख गरेको छ ।
इरानी अधिकारीहरूसँगको फोन संवादमा उनले यस्तो सहमति प्राप्त गरेको समाचारमा उल्लेख छ ।
यो फोन संवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमीरलाई इजरायलले युद्धविराममा सहमति जनाएको जानकारी गराएपछि भएको बताइएको छ । ट्रम्पले तेहरानलाई पनि युद्धविराममा सहमत गराउन दोहाको सहयोग मागेपछि उक्त संवाद भएको हो ।
अमेरिकी अधिकारीहरूको भनाई
अमेरिकी अधिकारीहरूले भने इजरायल र इरान दुवै युद्धविरामका लागि सहमत भएका दाबी गरेका छन् ।
सीबीएसका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग प्रत्यक्ष संवाद गरेका ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । इरानबाट थप आक्रमण नभएमा मात्र इजरायलले युद्धविरामको शर्त स्वीकार गर्ने इजरायलले प्रतिक्रिया दिएको ती अधिकारीले जानकारी दिएका छन् ।
सीबीएसका अनुसार, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले पनि तेहरानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् ।
प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, यो युद्धविराम अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफले इरानी पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष संवादमार्फत सहमति जुटाएपछि सम्भव भएको बीबीसीले उल्लेख गरेको छ ।
इरानको अवस्था
तेहरानबाट प्रत्यक्ष रिपोर्टिङ गरिरहेका अलजजीराका एक रिपोर्टरका अनुसार ट्रम्पको घोषणाले युद्धविरामको बाटो खोल्न सके पनि तेहरानको अवस्था फरक छ । राजधानीमा अहिले पनि इजरायली आक्रमण रोक्न इरानी हवाई सुरक्षा प्रणाली सक्रिय भइरहेकाले विस्फोटका आवाज गुञ्जिरहेका छन्।
‘डोनाल्ड ट्रम्पको पछिल्लो वक्तव्यबारे तेहरानबाट हामीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया प्राप्त गरेका छैनौं,’ पत्रकार तोहिद असादीले भन्नुभएको छ, ‘तर इरानी उच्च नेताहरूका अघिल्ला वक्तव्यहरू हेर्दा यस्तो लाग्छ कि उनीहरूले जबरजस्ती थोपिएको शान्ति स्वीकार गर्नेवाला छैनन्।’
इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ।
उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’ बीबीसीका अनुसार उनले केही घन्टाभित्रै इरानले इजरायललाई ‘सैन्य प्रतिक्रिया’ मार्फत ट्रम्पको घोषणा झूट भएको प्रमाणित गर्नेछ।
स्रोतका अनुसार, अमेरिकाको यो घोषणा दोहामा रहेको आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको ‘अपमानजनक पराजय’ बाट जनताको ध्यान हटाउने प्रयास मात्र हो। यद्यपि, हालसम्म इरानी अधिकारीहरूले ट्रम्पको उक्त घोषणा न त औपचारिक रूपमा खण्डन गरेका छन्, न त पुष्टि नै गरेका छन्।


















