क्वालालम्पुर(मलेशिया), १० आषाढ । मलेशियामा भइरहेको एसीसी मेन्स यु १६ एलिट कप खेल अन्तरगत आज नेपाली किशोर खेलाडीहरुले उत्कृष्ट बलिड. गरेका छन् । नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ रन बनाए । गम्बी हाराहिन्जी ३० बलमा १३ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
खेलमा नेपालका बायाँ हाते स्पिनर शुभम खनाल चम्किए । उनले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशीलल रावल र विपिन शर्माले समान १। १ विकेट लिए ।
आज नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर तथा जापानले भुटानलाई पराजित गरेका थिए।
एसियाली क्रिकेट परिषद् (एसीसी) को बार्षिक कार्यतालिका अनुसार भइरहेको प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।
नेपालले तेस्रो खेलमा आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल २१ आषाढ अर्थात ५ जुलाईमा हुनेछ ।
नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।


















