Prakash Adhikari August 1, 2018

काठमाडौं,१६ साउन (बीबीसी) । सबभन्दा जोखिमयुक्त मानिएका हिमतालहरूमा नै गतिलो पूर्वसूचना प्रणाली जडान नगरिएकाले तल्लो भेगमा निम्तिन सक्ने विपद्बाट जोगिन समयमा जानकारी दिन कठिन भएको अधिकारी तथा विज्ञहरूले चेतावनी दिएका छन्।

फुट्नसक्ने भन्दै उच्च सतर्कता अपनाउनुपर्ने मानिएका केही हिमतालमा राखिएका त्यस्ता प्रणाली भरपर्दो नभएको र वरपर दूरसञ्चारको सञ्जालको अभावमा खर्चिलो भू-उपग्रहमा भर पर्नुपरेको समेत उनीहरू बताउँछन्।

ती हिमतालमा चौबिसै घण्टा पूर्वसूचना दिनसक्ने प्रविधि जडान गर्नसके मध्यपहाडी र तराई क्षेत्रमा बाढी र पहिरोले पुर्‍याउने क्षति कम गर्न सहयोग पुग्ने उनीहरूको तर्क छ।

करिब ७ वर्ष अघि गरिएको एक अध्ययनले नेपालका ६ वटा हिमतालहरू उच्च जोखिममा रहेको र कुनै पनि बेला फुट्नसक्ने देखाएको थियो।

योजना
अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि सरकारले प्राथिमकताका आधारमा ती हिमतालहरूमा पानीको मात्रा घटाउने र पूर्वसूचना प्रणाली जडान गर्ने योजना अघि सार्‍यो।

तर यसबीच जम्मा दुईवटा हिमतालमा मात्र पूर्वसूचना प्रणाली जडान गरिएको स्वयं सरकारी अधिकारीहरू बताउँछन्।

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार हाल उच्च जोखिमयुक्त मानिएका च्छो रोल्पा र इम्जा च्छो हिमतालमा मात्र पूर्वसूचना प्रणाली जडान गरिएको छ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले गरेको सो अध्ययनले यसबाहेक तल्लो वरुण, ठूलागी, पश्चिम चम्जाङ र लुम्दिङ हिमताललाई समेत उच्च जोखिमयुक्त देखाएको थियो।

महंगो
हिमतालहरूमा पूर्वसूचना प्रणाली जडान हुन नसक्दा समस्या परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख राजेन्द्र शर्माले बताए।

उनले भने, “हिमाली क्षेत्रमा नै कुनै हिमताल फुट्न लागेको जानकारी हामीले पाएमा तल्लो तटीय क्षेत्रमा क्षति गर्न गर्न सकिन्छ, सूचना दिने यथेष्ट समय पनि हुनेछ।”

विभागका अधिकारीहरूले दूरसञ्चार सेवा प्रदायकले सञ्जाल विस्तार नगरिदिँदा च्छो रोल्पा र इम्जा हिमतालमा हाल जडान गरिएका प्रणालीहरू समेत प्रभावकारी नभएको र भू-उपग्रहमार्फत सेवा लिनुपर्दा महंगो परेको बताएका छन्।

खर्चिलो हुने हुँदा ती हिमतालबाट गरिनुपर्ने सूचना आदानप्रदान चौबिसै घण्टा हुन नसकेको बताइन्छ।

बाढी पूर्वानु्मान प्रणाली
फाइदा
उनीहरूका अनुसार हिमताल बाहेकका धेरै क्षेत्रमा पनि अझै स्वचालित र तत्कालै सूचना दिइहाल्ने खालका प्रणाली जडान हुन सकेका छैनन्।

यसले गर्दा बाढी पूर्वानुमान शाखाले सबै क्षेत्रको अवस्था तत्कालै थाहा पाउन नसक्ने अधिकारीहरू बताउँछन्।

जोखिमयुक्त हिमतालबाट निम्तन सक्ने विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सबैभन्दा उपयुक्त हुने एकजना हिमताल विज्ञ प्रवीण मास्केले बताए।

“जोखिमयुक्त हिमतालहरू भएको स्थानमा चाहिँ सूचना प्रणाली राख्नुपर्ने अवस्था नै हो। जलाधार क्षेत्रहरूलाई समेटेर नदी प्रणालीहरूमा सूचना दिनुपर्ने गरि व्यवस्थापन गर्नुपर्ने अवस्था देखिन्छ,” उनले भने।

अभाव
सरकारी अधिकारीहरू भने पर्याप्त बजेट र जनशक्ति अभावले गर्दा सबै हिमतालमा पूर्वसूचना प्रणाली राख्न नसकिएको बताउँछन्।

पूर्वसूचनाका लागि जडान गरिएका उपकरणको नियमित मर्मत र रेखदेख गर्नका लागि समेत छुट्टै बजेट नहुँदा कतिपय जडान भएका उपकरण समेत संचालनमा नरहेको उनीहरूले जानकारी दिए।

दूरसञ्चार सेवाको सञ्जाल नहुँदा परेको समस्या समाधान गर्न सरकार तयार रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए।

“कतै त्यस्तो समस्या परेको ठाउँ छ भने हामी विभिन्न विकल्पमार्फत सेवा पुर्‍याउन सक्छौँ र पुर्‍याउन तयार पनि छौँ,” उनले भने।

चिन्ता

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले च्छो रोल्पा र इम्जा च्छो हिमतालबाट पानीको मात्रा घटाउने प्रणाली विकास गरिएकाले हाल यी हिमतालबाट खतरा नभएको बताएका छन्।

अन्य जोखिमयुक्त हिमतालहरूबाट समेत यसैगरी पानीको मात्रा घटाएर पूर्वसूचना प्रणाली जडान गर्ने योजना अघि बढाइने उनीहरूको भनाइ छ।

सरकारी योजनाहरू अघि बढ्न ढिलाइ हुँदा कतिपय जोखिमयुक्त मानिएका हिमतालहरूमा पानीको मात्रा बढ्ने र त्यसले जोखिम थप बढ्ने भन्दै कतिपय विज्ञहरूले भने चिन्ता व्यक्त गर्ने गरेका छन्।

Share Now

Leave a comment.