सानेपा(ललितपुर), १७ आषाढ । LG Nepal ले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा “Affectionate Intelligence” लाई विशेष दुई दिने कार्यक्रम मार्फत् सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा LG को भविष्यमुखी प्रविधिको अनुभव गराइयो—जहाँ प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, उनीहरूको ख्याल पनि राख्दछ ।
“Affectionate Intelligence” LG को artificial intelligence प्रति राखिएको विशेष दृष्टिकोण हो—जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।
यस अवसरमा LG ले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो।
साथै, LG ले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै, एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पछिल्ला चार दशकदेखि LG नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको छ—यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल हो।
कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको उपस्थितिले विशेष आकर्षक बनाएको थियो । उहाँले नेपालमा LG को सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, LG लाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उहाँहरुको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरमन म्यानेजिङ डाइरेक्टर, फावियन कुन्हो ली,एलजी इलेक्ट्रोनिक्स बंगलादेशका म्यानेजिङ डाइरेक्टर जेराल्ड सुन्घो चुन र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी जस्ता विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो ।
दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले LG को नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे। सहभागीहरूले “AI Mission Challenge” मा भाग लिएर रमाइला उपहारहरू पनि जिते। मिडियाकर्मी र विशेष आमन्त्रित पाहुनाहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो ।
यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख श्री गौरव हमालले भन्नुभयो, “हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। LG ले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। अब ‘Affectionate Intelligence’ सँगै एआई झन् मानवीय, झन् संवेदनशील र झन् अर्थपूर्ण बन्नेछ।”
LG र CG को सहकार्य सन् १९८८ बाट सुरु भएको हो— उक्त समय एलजीलाई Gold Star भनेर चिनिन्थ्यो। दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको छ।
“Affectionate Intelligence” कार्यक्रम केवल प्रदर्शनी मात्र थिएन—यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको थियो ।



















