Prakash Adhikari July 3, 2025

 

क्वाललम्पुर(मलेसिया), १९ आषाढ । मलेसियालाई हराउदै डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी मेन्स यु १६ इस्ट जोन कपको फाइनल यात्रा तय गरेको छ ।

बिहिवर सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर सो लक्ष्य हासिल गर्यो। नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे ।

शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे । ओपनरका रुपमा मैदानमा आएका प्रसिद्ध जैसी २ रनमा आउट भए । उनलाई मलेसियाका नागिनिश्वरमले आउट गरेका थिए ।

नेपाललाई रोक्ने क्रममा मलेसियाका नागिश्वरमले एक विकेट लिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसिया निर्धारित ५० ओभरको खेल ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो ।

मलेसियाका लागि मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियालाई रोक्ने क्रममा नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ । १ विकेट लिएका थिए ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो ।

अब नेपालले उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच भइरहेको छ ।

प्रतियोगिताको फाइनल पर्सी असार २१ गते तद्अनुसार ५ जुलाईमा हुनेछ ।

Share Now