Prakash Adhikari July 3, 2025

 

क्वाललम्पुर(मलेसिया), १९ आषाढ । एसीसी मेन्स यु १६ इस्ट जोन कप अन्तरगत सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपालसामु ९१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको मलेसिया ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो ।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियालाई रोक्ने क्रममा नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ । १ विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

समूह चरणमा नेपालले खेलेका सबै ४ खेल जितेको थियो । मलेसियाले भने समूह चरणका ४ मध्ये ३ खेलमा सफलता प्राप्त गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो ।

यस खेलको विजेताले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

 

Share Now