Prakash Adhikari July 18, 2025

माले(माल्दिभ्स), २ साउन । काभा  च्याम्पियन्स लिग २०२५ अन्तरगत माल्दिभ्सको राजधानी मालेमा भइरहेको खेलमा नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइन्स क्लबलाई पराजित गरेको छ ।

हेल्प नेपाल स्पोर्टस् क्लबले घरेलु टोली धिवेहीलाई ३-२ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा पहिलो र दोस्रो खेल नेपालले जित्यो । तेस्रो र चौथो खेल माल्दिभ्सले लगातार जित्यो । निर्णायक मानिएको पाँचौ खेल नेपालले जितेको थियो ।

नेपालले पहिलो खेल ३३-३१ ले हरायो । दोस्रो खेलको नतिजा पनि नेपालको पक्षमा आयो । नेपालले २५ -२० ले माल्दिभ्सलाई हरायो । तेस्रो सेटको नतिजा माल्दिभ्सको पक्षमा पर्यो ।उसले तेस्रो खेल २५ -२२ र चौथो खेल २५ -२० ले नेपाललाई हरायो । पाँचौ खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै १५ -८ ले माल्दिभ्सलाई पराजित गर्यो ।

प्रतियोगितामा काभा अन्तर्गत रहेका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता रहेको छ । आयोजक देशको दुई क्लबले प्रतिनिधित्व गर्ने नियम रहेको छ । प्रतियोगितामा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका दुई क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भइरहेको छ । नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने उपाधि जित्ने टोली बनाएको प्रशिक्षक उत्सव खड्काले बताउनुभएको छ ।

उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

Share Now