Prakash Adhikari August 26, 2025

काठमाडौं , १० भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका (तीज) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुस्वास्थ्य,दीर्घायु,सुख समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

तीजको अवसरमा एक शुभकामना सन्देश दिंदै उहाँले भन्नुभएको छ, यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् ।

उहाँले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको सन्दर्भको पनि उल्लेख गर्नुभएको छ । तीजले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको बताउँदै उहाँले भन्नुभएको छ, यस पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ । पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।

सभापति देउवाले हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि भएको बताउँदै यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको पनि उल्लेख गर्नुभएको छ ।

Share Now