काठमाडौं, २३ भाद्र । नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा युवा पुस्ताले गरेको सडक आन्दोलनका क्रममा प्रहरीले घातक बल प्रयोग गर्दा काठमाडौंमा १७ सहित कम्तिमा १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
र्यालीका क्रममा काठमाडौंका विभिन्न स्थानमा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १७ जना मारिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिनुभयो। पूर्वी सहर इटहरीमा पनि दुई जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीका स्थानीय संवाददाताले जानकारी दिनुभएको छ।
आफूलाई जेन जी भनेर चिनाउने नवयुवा र विद्यार्थीहरूले अगुवाइ गरेको प्रदर्शनका क्रममा हिंसा मच्चिएपछि देशका विभिन्न सहरहरूमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। काठमाडौं सहित, पोखरा, बुटवल, भैरहवा र इटहरी लगायतका क्षेत्रमा सोमवार दिउँसोबाट कर्फ्यू आदेश जारी भएको छ।
कर्फ्यूका बावजुद काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि प्रदर्शन नरोकिएको प्रहरीले बताएको छ।
बिहान माइतीघर मण्डलाबाट सुरू भएको ुजेन जीु पुस्ताका युवा र किशोर किशोरीहरूको प्रदर्शन मध्यान्ह नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको निषेधित क्षेत्र पुगेपछि झडप सुरु भएको थियो। भ्रष्टाचार, नातावाद र बेथितिविरुद्ध नारा लगाउँदै अघि बढेका केही प्रदर्शनकारीहरू तारबार र पर्खाल तोडेर संसद् भवनको परिसरसम्म प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनकारीहरू हताहत भएकोमा दुःख व्यक्त गर्दै ूजनताको ज्यान भन्दा सरकारको निर्णय ठूलो नभएकोू प्रतिक्रिया बीबीसीलाई दिनुभएको छ ।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई जेन जी भनेर चिनाउने नवयुवा पुस्ताले सामाजिक सञ्जालकै माध्यमबाट देशका मुख्य सहरहरूमा विरोधर्याली आह्वान गरेका थिए।
काठमाडौंस्थित विभिन्न तीन अस्पतालमा अझै १०० जना भन्दा धेरै घाइतेहरूको उपचार भइरहेको र त्यसमध्ये सुरक्षाकर्मीहरू पनि रहेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताएका छन्। थप ४५ जना उपचारपछि अस्पतालबाट घर फर्किएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेहरूको निःशुल्क उपचार गरिने जनाएको छ।
वीर अस्पतालसँगै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा मृतकको सङ्ख्या सबैभन्दा धेरै छ। उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपचाररत रहेका केही घाइतेको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ।
सबैभन्दा तनावग्रस्त बनेको नयाँबानेश्वर नजिकैको निजामती कर्मचारी अस्पतालमा केही शवहरू राखिएका छन्। अस्पतालका मेडिकल डाइरेक्टर दीपक पौडेलले अस्पतालमा ल्याइएका अधिकांश घाइतेहरू गोली लागेको अवस्थाका रहेको बीबीसीलाई बताउनुभएको छ।
नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि केही शवहरू राखिएका छन्। ठूलो सङ्ख्यामा घाइतेहरू ल्याइएपछि अन्य अस्पतालमा रेफर गरिएको अस्पतालका सहायक प्रशासन प्रमुख अनिल अधिकारीले बताउनुभयो।
त्यस बाहेक महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र सिनामङ्गलस्थित केएमसी शिक्षण अस्पतालमा पुर्याइएका घाइतेहरूको पनि मृत्यु भएको थियो।
घाइतेको सङ्ख्या धान्न नसकिने गरी अत्यधिक भएको भन्दै सिभिल अस्पतालले केही घाइतेलाई अन्य अस्पताल पठाएको छ। प्रहरीले अधिकांश घाइतेहरूलाई निजामती कर्मचारी (सिभिल) अस्पताल र वीर अस्पताल पुर्याइएको बताएको छ।
प्रहरी र प्रशासन के भन्छन्
झडप सुरु भएपछि काठमाडौंमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँमा र पछि अन्य संवेदनशील मानिएका स्थानमा कर्फ्यू विस्तार गरिएको थियो।
“हामीले १२ः३० बजे जारी भएको कर्फ्यू विस्तार गरेका छौँ। अब राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लागेको छ”, जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रवक्ता मुक्तिराम रिजालले भन्नुभयो।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको थियो।
“विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले” बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।
सेनाको टुकडी सडकमा
स्थानीय प्रशासनले कर्फ्यूको घोषणा गरेलगत्तै काठमाडौंको सडकमा नेपाली सेनाको टुकडी तैनाथ भएको देखिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको बताउनुभयो।
“शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ”, उहाँले भन्नुभयो।
इटहरीमा पनि दुई जना मारिए
पूर्वी सहर इटहरीमा पनि प्रहरीको गोलीबाट दुई जना प्रदर्शनकारीहरू मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीका स्थानीय संवाददाता बिक्रम निरौलाले जानकारी दिनुभएको छ।
कर्फ्यू आदेश उल्लङ्घन गर्दै इटहरी उपमहानगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएपछि गोली चलाइएको प्रहरीले बताएको छ।
प्रहरीको गोली लागेर घाइते भएका छ जना मध्ये दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले बीबीसीलाई बताउनुभयो ।
जेन जी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसोबाट इटहरी क्षेत्रमा कर्फ्यू लगाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी उपमहानगरपालिका भित्रका केही क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गर्नुभएको छ ।
पोखरा, बुटवल र भैरहवामा पनि कर्फ्यू
प्रदर्शनकारीहरूसँगको झडपपछि पोखरामा पनि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
प्रहरीले ठूलो सङ्ख्यामा अघि बढेका युवाहरूलाई रोक्न अश्रुग्यास र रबरको गोली प्रयोग गरेको बीबीसी संवाददाता कृष्णमणि बरालले बताउनुभएको छ।
अपराह्न २ बजेदेखि अर्को आदेश नभएसम्म पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिम, फिश्टेल गेट, उत्तर मालपोत कार्यालय र दक्षिण राष्ट्र ब्याङ्क चोक हुँदै दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय रहेको ड्यामसाइडसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
त्यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोल पम्प धागो कारखाना पुल, पश्चिममा बेलवास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुरसम्म कर्फ्यू लगाइएको छ।
भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक, दक्षिणमा मेउडीहवा र बुटवल बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटरसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
काठमाडौंमा कहाँ कहाँ छ कर्फ्यू?
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ताले शान्तिपूर्ण प्रदर्शन अराजक बन्दैू गएको र निषेधित क्षेत्र तोडिएकाले कर्फ्यू लाउने निर्णय गरिएको बताउनुभएको छ ।
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि बल प्रयोग गर्नुपरेको उहाँको भनाइ छ। “त्यस क्रममा सामान्य बल प्रयोग भएको छ। हामीले तत्कालै केही जनालाई नियन्त्रणमा लिएका छौँ”, यसअघि रिजालले बीबीसीलाई बताउनुभएको थियो।
काठमाडौंमा राष्ट्रपति कार्यालय शीतल निवास आसपास र महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति कार्यालय रहेको हरित गृह आसपासको लैनचौर क्षेत्र, सिंहदरबार वरपर तथा भद्रकाली हुँदै पद्मोदय मोड र अनामनगरतर्फ जाने मोडसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
त्यसै गरी संसद् भवन रहेको नयाँ बानेश्वर आसपासका शङ्खमूल, बिजुली बजार, तीनकुने देखि मध्य बानेश्वरसम्म कर्फ्यू लगाइएको छ।
सामाजिक सञ्जालबाट उठेको ज्वाला
अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए।
टिकटकमा विभिन्न नेताका छोराछोरीको ुविलासी जीवनु झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित ‘नेपो बेवी’ ट्रेन्ड सुरु गरेका छन्।
त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ।
बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए।
काठमाण्डू र बाहिरका प्रमुख सहरहरूमा पनि विरोधप्रदर्शन हुने भएकाले प्रहरीले निगरानी गरेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे सोमवार बिहान बीबीसीलाई बताउनुभएको थियो।
ूयो काठमाडौं उपत्यकामा मात्रै छैन। बाहिर पनि भएकाले जुनजुन ठाउँमा छ सम्बन्धित जिल्ला सुरक्षा समिति बसेर सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक सुरक्षा योजना तयार गरेर जनशक्ति परिचालन गरिएको छू, उहाँको भनाइ थियो।
युवाहरूको सोमवारको प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि प्रहरी प्रवक्ताले आफूहरूले त्यसलाई सामान्य रूपमा नलिएको बताएका थिए।
जेन जीको प्रदर्शनमा काठमाडौं महानगरपालिकामा मेअर बालेन शाहसहित कैयौँ राजनीतिज्ञ, चर्चित कलाकार र गायकगायिकाले पनि ऐक्यबद्धता व्यक्त गरेका थिए।
गायक तथा कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत् नै समर्थन व्यक्त गर्नुभएको थियो ।
“….यसपालि उनीहरूलाई जेन जीको साङ्केतिक प्रदर्शनले गहिरो महसुस होस् कि समय धेरै अगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ”, उहाँले फेसबुकमा लेख्नुभयो।
बिहान काठमाडौंको माइतीघरमा पुगेका बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालका अनुसार प्रदर्शनमा सहभागी हुनेमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थीहरू थिए।
उनीहरूले नेपालको राष्ट्रिय झण्डासहित अब अति भयो र भ्रष्टाचारलाई अस्वीकार गरौं जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका थिए।
उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा नारा समेत लगाएका थिए।
काठमांडौं उपत्यकामा युवाहरूको अगुवाइमा भएको प्रदर्शन अहिलेसम्मकै ठूलो देखिएको छ। उनीहरूले देशको अवस्था बदल्न आफूहरू सडकमा आएको बताए।
बाङ्ग्लादेशमा विद्यार्थीहरूले ल्याएको राजनीतिक परिवर्तनको उदाहरण दिँदै उनीहरूले नेपालमा पनि युवाहरूको प्रदर्शनले त्यस्तै किसिमको अवस्था ल्याउन सक्ने बताएका छन्।
देशैभरि युवाहरूको प्रदर्शन
दिनभर सुनसान रहेको नुवाकोटमा प्रदर्शनकारीहरूमाथि भएको दमनप्रति खेद जनाउँदै सोमवार साँझ नागरिकहरू मैनबत्ती बालेर सडकमा आएका थिए। उनीहरूले सडकमा नारा लगाएका थिए।
बुटवलको राजमार्ग चौराहामा भेला भएका युवाहरू भ्रष्ट्राचार विरोधमा नाराबाजी गर्दै ट्राफिकचोकसम्म पुगेका थिए।
उनीहरूले ‘आज होइन भने कहिले, हामी होइन भने को?’ ‘अब पालो युवाहरूको’ जस्ता नारा अङ्कित प्लाकार्डहरू पनि बोकेका थिए।
बुटवलको प्रदर्शनमा राम्रै सङ्ख्यामा युवाहरूको सहभागिता थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरुद्धका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरे।
वीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूले सरकारको निर्णयविरुद्ध विरोधसभा गरे। सामाजिक सञ्जाल बन्द गर्ने र भ्रष्टाचार बढेको भन्दै उनीहरूले सरकारप्रति आक्रोश पोखे। विरोधर्यालीमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।
सहभागीहरूले ‘भ्रष्टाचार अन्त्य गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए। उनीहरूले भ्रष्टाचार र कुशासन दिन प्रतिदिन बढ्दै गएको भन्दै सरकार जनताप्रति गम्भीर हुनुपर्ने माग गरेका छन्।
युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको दाबी गर्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरे।
विराटनगरको सन्सारीमाइस्थानमा भेला भएर युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका थिए। विरोधर्यालीमा कलेजमा अध्ययनरत विद्यार्थी धेरै थिए।
उनीहरूले भ्रष्टाचार र कुशासन बढेको भन्दै सरकारविरोधी नारा पनि लगाएका थिए।
चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको थियो। जसमा छ जना प्रदर्शनकारी र छ जना प्रहरी घाईते भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो।
प्रदर्शनकारीहरू र प्रहरीबीच केही बेर ढुङ्गा हानाहान भएको थियो भने लायन्स चोक र वीरेन्द्र क्याम्पस अगाडि प्रदर्शनकारीहरूले टायर बालेका थिए। प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए पछि र्याली नारायणगढ बजारतर्फ मोडिएको थियो।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि युवाहरूले प्रदर्शन गरे।
बसपार्क बागबजारदेखि सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर फेरि बागबजार नै फर्किएको छ।


















