Prakash Adhikari September 8, 2025

काठमाडौं, २३ भाद्र । अभिव्यक्ति स्वतन्त्रता र भ्रष्टाचार विरुद्ध निकालिएको जेनजी पुस्ताको पहिलो प्रदर्शनमा १९ जनाको ज्यान जाने प्रहरी परिचालन भएको घट्नाको जिम्मेवारी लिदैं गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुभएको छ ।

जेन जीको प्रदर्शनमा आज दिउँसो भएको अकल्पनीय प्रहरी गोली प्रहारबाट निहत्था १९ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो ।

बैठकमा पार्टीका अधिकांंश नेताहरुले गृहमन्त्री लेखकलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाव दिनुभएको थियो ।

बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिनुभएको थियो।

नेताहरूका सुझावअनुसार नै उहाँ मन्त्रिपरिषद् बैठक सकेर राजीनामा दिने बचन दिएर देउवानिवासबाट बाहिरिनुभएको थियो ।

गृहमन्त्री लेखकमाथि जेनजीको प्रदर्शनमा मात्र नभई यसअघि गत चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलनमा समेत सुरक्षाको उचित व्यवस्थापन गर्न नसकेको, अत्यधिक बल प्रयोगका कारण जनधनको ठूलै क्षति पुगेको भन्दै लेखकलाई मार्ग प्रशस्त गर्न नेताहरूले सुझाव दिएका थिए ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अघि पार्टीभित्र छलफल नभएकोप्रति पनि सरकारमा नरहेका कांग्रेस नेताहरूले आपत्ति जनाएका थिए। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले समयमै फिर्ता लिएको भए यो अवस्था नआउने पनि नेताहरूले तर्क राखेका थिए।

शीर्ष नेताको बैठकमा महामन्त्री थापाले २०४६ पछि भएका भ्रष्टचारका काण्डमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने बताएका थिए।

कांग्रेसका नेता कार्यकताले सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टीमा बढाएका छन्। नेता डा. शेखर कोइरालाले पनि वर्तमान सरकारको औचित्य आजबाट सकिएको बताइसक्नुभएको छ।

Share Now