Prakash Adhikari October 13, 2025

काठमाडौं, २७ असोज। पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादर महरा पक्राउ पर्नुभएको छ । उहाँलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन तस्करीको छानबीनका लागि पक्राउ गरेको हो।

२०७९ सालको पुस १० गते फ्लाईदुबईको फ्लाइट नम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेशमा भेपको बट्टामा सुन ल्याएका थिए ।उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७ सय ३० थान भेपमा भने सुन लुकाएर ल्याइएको थियो । तात्कालीन बजार मूल्यमा ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवन्त खड्का समेतको मिलेमतोमा बेचिएको थियो ।

सो सुन छुटाउन माओवादी नेता महराले भन्सारमा दबाब दिएको समाचार आएको थियो । उहाँसंगै यो प्रकरणका छोरा राहुल महरा पनि तानिनुभएको थियो । उहाँलाई पक्राउ गरी अनुसन्धानको लागि कारागार समेत लगिएको थियो ।

ती सुटकेश चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।

महरासंग सीबीआईले केही दिन अघि बयान लिएको बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग माओवादी नेता महरा र उहाँका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
सुन तस्करीमा तानिदै पूर्व उपराष्ट्रपति पुन

विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उहाँका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

दुई वर्षअघि पुनका जेठा छोरा जितेन्द्रले हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएर हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको खबर आएको थियो । सुनको भुक्तानीबापतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण सतहमा आयो ।

बाबु दुई कार्यकाल उपराष्ट्रपति छँदा स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिका भासिनुभएको बताइन्छ । सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दिपेश पुन पनि तानिनुभएको छ । उहाँ अहिले फरार रहेको बताइन्छ ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुछिनुभएका दिपेश अहिले भारतमा रहेको बताइन्छ ।

तत्कालीन उपराष्ट्रपति पुनको परिवार र सचिवालय नैशक्तिको दुरुपयोग गर्दै सुनतस्करीमा संलग्न रहेको पाइएको छ । उहाँको ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङसमेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा छुट्नुभएको थियो । उहाँकै आफन्त ठमेलको ‘होटल भियना’की सञ्चालिका अमला रोका पनि सुन तस्करीमा पक्राउ परेर दुई लाख धरौटीमा रिहा हुनुभएको थियो ।

 

Share Now